काठमाडौँ । ललितपुरको नख्खु कारागारमा सोमबारदेखि १० दिवशीय विपश्यना ध्यान शिविर सुरु भएको छ। आगामी फागुन २७ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा ३५ जना कैदीबन्दी सहभागी छन्।
नेपाल विपश्यना केन्द्रको आग्रहमा सरकार, गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागले शिविर सञ्चालनको अनुमति दिएको हो।
सोमबार नख्खु कारागारमा शिविर सुरुवात गर्दै गृहसचिव टेकनारायण पाण्डेले विपश्यना साधनाले कैदीबन्दीको जीवन रुपान्तरण गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे।
कारागार विभागका महानिर्देशक वासुदेव घिमिरेले आफू पनि विपश्यनाको साधक भएकाले यस्तो अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको बताए। ‘यहाँको अनुभवका आधारमा अन्य कारागारमा पनि विपश्यना ध्यान शिविर चलाउँछौँ,’ उनले भने।
उक्त अवसरमा विपश्यना आचार्य पूर्णप्रसाद ढकालले विपश्यना साधनाबारे स्पष्ट पारेका थिए।
कार्यक्रममा सर्वोच्च अदालतका रजिस्ट्रार निर्मला पौडेल, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेल, ललितपुर जिल्लाका प्रजिअ घनश्याम उपाध्यायले शिविरमा सहभागी हुने कैदीबन्दीलाई शुभकामना दिएका थिए। त्यस्तै, नख्खु कारागारका जेलर चिरञ्जिवी गिरीले कार्यक्रमका सहभागीलाई स्वागत गरेका थिए।