बैङ्क प्रणालीबाहिर अर्बौको अवैध कारोबार

बैङ्क प्रणालीबाहिर अर्बौको अवैध कारोबार

२०७८, पौष २६ सोमवार

  • 817
    SHARES

  • बैङ्क प्रणालीबाहिर अर्बौको अवैध कारोबार

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले यही पुस १८ गते ५० लाख रुपियाँ नगदसहित सौर्य एयरका दुई कर्मचारी रेशा शाक्य र प्रकाश पौड्याललाई पक्राउ गर्यो । विराटनगरबाट काठमाडौँ आएको ‘एसएयू–७२४’को उडानमार्फत चाउचाउको कार्टोनमा लुकाएर ल्याएको रकमको स्रोत खुलेको छैन ।

    सौर्य एयरले उक्त रकम टिकटबापतको भनी दाबी गरेको छ तर विराटनगरमा बैङ्क नै नभएजस्तो गरेर विमानबाट ओसार्नुपर्ने अवस्थाबारे प्रहरीले आशङ्का गरेको छ । राजस्व अनुसन्धान विभागले यसको अनुसन्धान गरिरहेको छ ।

    त्यसको चार दिनपछि पुस २२ गते प्रहरीले धनुषा लक्ष्मीनिया गाउँपालिका–१, सिनुरजोडाका अमितकुमार यादवलाई ३८ लाख ३५ हजार रुपियाँसहित पक्राउ गर्यो । प्रदेश–२–०२००१ प ०४८०८ नम्बरको मोटरसाइकलको ट्याङ्कीमा भारतबाट लुकाएर ल्याउँदै गरेको रकमबारे अनुसन्धान भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    यी घटनाअघि गत कात्तिक २४ गते काठमाडौँ र भक्तपुरको सीमास्थित मनोहराबाट ८० लाख रुपियाँसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उक्त रकम हुन्डीमार्फत जापानबाट आएको खुल्यो । गत असोज ८ गते पनि काठमाडौँको नागढुङ्गाबाट ९५ लाख रुपियाँसहित भारतीय नागरिक सागर सीताराम लोखण्डे र कृष्ण आदातेलाई प्रहरीले पक्राउ गरेको थियो । त्यो अवैध रकम तस्करीको सुन खरिदमा प्रयोग भएको खुल्यो ।

    कारोबारमा हत्या पनि गत वर्षको पुस २० गते पनि ४० लाख नगदसहित पक्राउ परेका व्यासमुनि तेली गुप्ताको समूहले केराउ तस्करी गर्ने क्रममा कैलालीको धनगढी–१२ स्थित अस्थायी प्रहरी बिट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको थियो ।

    २०७७ चैत २९ गते एक करोड ४७ लाख ८६ हजार रुपियाँसहित सचिनकुमार अग्रवाल तथा अङ्कित अग्रवाल र एक करोड ५६ लाख ८३ हजार ६०४ रुपियाँसहित नुरुद्दिन अन्सारीलाई प्रहरीले समात्यो । तीनै जना भारतीय नागरिक हुन्डी कारोबारमा संलग्न रहेको खुलेको छ ।

    २०७५ मङ्सिर ८ गते एक करोड ४३ लाख ४७ हजार ६१० सहित चिनियाँ नागरिक तथा २०७७ पुसमा एक करोड नगदसहित भारतीय नागरिक श्रवण चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    ठूलो रकमको अवैध कारोबारमा यी प्रतिनिधि घटना मात्र हुन् । प्राप्त तथ्याङ्कअनुसार नेपालमा पछिल्लो समय अवैध रूपमा आर्थिक कारोबार हुने देखाएको छ । ठूलो परिमाणको नगद तस्करी (बल्क क्यास स्मग्लिङ) बैङ्क प्रणालीभन्दा बाहिरबाट हुने गरेको देखाएको छ ।

    यी घटनामा पक्राउ परेका व्यक्तिको राष्ट्रियताका आधारमा यस्तो अपराधमा ठूलो सञ्जाल रहेको स्पष्ट हुन्छ । साथै अवैध रूपमा ओसारपसार हुने रकम लागूऔषध, सुन तस्करी तथा राजस्व छली र हुन्डी कारोबारमा प्रयोग हुने गरेको अनुसन्धानबाट खुलेको छ । बैङ्क प्रणाली बाहिरबाट हुन थालेपछि त्यसको असर मुलुकको अर्थतन्त्रसँगै शान्ति सुरक्षामा समेत देखिएको छ ।

    २०७८, पौष २६ सोमवार०८:४१:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार