काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक च्याम्पियन लुम्बिनी लायन्सले ७ विकेटको सहज जित निकालेको छ। पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले केबल ९.५ ओभरमै भेटायो।
दर्शकका लागि अनुमानयोग्य बनेको खेलमा छक्का र चौकाको वर्षा सीमित मात्र रह्यो। भरिभराउ टियु मैदानमा सुरुवातबाटै उत्साहित दर्शक पहिलो इनिङ्समा अपेक्षित रन बन्न नसक्दा स्वभाविक रुपमा उत्साहप्रद रहेनन्।
तर, दोस्रो इनिङ्समा लुम्बिनीले टी-२० को विष्फोटक झल्को दिँदै सुरुवात गरे पनि अन्त्य भने केही सुस्त रह्यो। यो पटक प्रयोगमा आएको डिआरएस सिस्टमदेखि अन्तर्राष्ट्रिय अनुभवी खेलाडीको उपस्थिति र फरक तरिकाले सिंगारिएको टियु मैदानमा अपेक्षित रन नबने पनि प्रतियोगिताको धमाकेदार सुरुवात भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले अम्पायरलाई बल दिँदै प्रतियोगिताको उद्घाटन गरे। उनले पहिलो इनिङ्स लगभग पूरै हेरे। सम्भवतः उनी नेपालमा भएका सार्वजनिक कार्यक्रममा सबैभन्दा लामो समय बसे।
तर, पहिलो इनिङ्समा अपेक्षित रुपमा रन नबन्दा दर्शकमा हुटिङको माहोल कमजोर देखियो। यद्यपि, दोस्रो इनिङ्समा लुम्बिनी लायन्सले आफ्नो विष्फोटक इनिङ्स गर्दै ८७ रनको सामान्य लक्ष्य सहज रुपमा पूरा गर्यो।
लुम्बिनीका लागि ओपनर ड्यार्सी सर्ट र आसिफ शेखले विष्फोटक सुरुवात गर्दै पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे। सर्ट ४० रनमा अनिल खरेलको बलमा आउट भएका थिए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए।
आसिफ पनि अनिलकै बलमा ३२ रन बनाएर आउट भए। उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरे। ७ विकेटको सहज जितसँगै साविक च्याम्पियन लुम्बिनीले आफ्नो लोभलाग्दो सुरुवात दिएको छ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटियो। सुदूरपश्चिमका लागि दीपेन्द्र सिंह ऐरीले २७ रन बनाउनु सर्वाधिक रह्यो। उनले २३ बलमा २ चौका प्रहार गरे।
सुदूरपश्चिमका लागि दीपेन्द्रबाहेक साइफ जाइबले १३ रन तथा अनिल खरेलले १५ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो।
सुदूरपश्चिमलाई सुरुवातमै धारासायी बनाउने क्रममा लुम्बिनीका किशोर महतोले ४ विकेट लिँदा शेर मल्लले ३ तथा स्याड्ली भान सल्कवाए र तिलक भण्डारीले १-१ विकेट लिए।