नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

२०७८, फाल्गुण २७ शुक्रवार

  • 861
    SHARES

  • नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन : नेपाल खण्डको निर्माण गर्न १० अर्ब लाग्ने

    काठमाडौं । नेपाल र चीन अर्थात् रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको नेपाल खण्डको सम्भाव्यता अध्ययन सकिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको टोलीले नेपाल खण्डमा बन्ने प्रसारण लाइनको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत प्राधिकरणलाई बुझाइसकेको छ ।

    नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन आयोजना प्रमुख कोमलनाथ आत्रेयले आयोजनाको सम्भाव्यता अध्ययन सकिएको बताएका छन् । उक्त अध्ययनले नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन बनाउन सम्भव रहेको देखाएको पनि बताए ।

    ‘उक्त अध्ययनले प्रसारण लाइन बन्ने सम्भावना देखाएको छ । अब वातावरणीय प्रभाव मूल्यांकन र आयोजना विस्तृत प्रतिवेदन (डीपीआर) बनाउने काम अगाडि बढ्छ,’ उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम चैतको पहिलो सातादेखि शुरू हुन्छ । डीपीआर भने चीनसँग मिलेर संयुक्त रूपमा बनाउँछौं ।’

    वातावरणीय प्रभाव मूल्यांकनको काम ७ महीनाभित्र सकिने उनको भनाइ छ । डीपीआरका लागि भने यही महीना (मार्च) मा चीन र नेपालबीच आवश्यक सम्झौता हुने उनले बताए ।

    नेपाल खण्डको प्रसारण लाइन ४०० केभीको डलर सर्किटको हुनेछ, त्यसमा २०७ ओटा टावर हुनेछन्, जुन बनाउन १० अर्ब रुपैयाँ लाग्ने देखिएको आत्रेयले बताए । प्रसारण लाइनको लम्बाइ भने ७० किलोमीटर हुने उनको भनाइ छ ।

    प्रसारण लाइनको कुल लम्बाइ भने १४९ किलोमीटर रहेको छ । त्यसमा चीनतर्फ ७९ किलोमीटर प्रसारण लाइन पर्नेछ । उक्त प्रसारण लाइनबाट ३ हजार मेगावाट विद्युत् नेपाल–चीन बीच आयातनिर्यात गर्न सकिने उनको भनाइ छ ।

    अध्ययनका क्रममा नेपाल खण्डको प्रसारण लाइन २ रूटमा बनाउन सक्ने देखिएको छ । रातमाटेदेखि चिलेमे हब हुँदै केरुङसम्म प्रसारण लाइन बनाउन सकिने देखिएको छ । यस्तै, रातमाटेदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज हुँदै केरुङसम्म प्रसारणलाइन बनाउन सकिने अध्ययनले देखाएको छ । -आर्थिक अभियानबाट 

    २०७८, फाल्गुण २७ शुक्रवार०७:०१:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार