काठमाडौं । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै दलहरूले केन्द्रदेखि प्रदेश र जिल्ला हुँदै स्थानीय तहमा शक्ति देखाउन होडबाजी सुरु गरेका छन् ।
गत २०७४ सालको निर्वाचनमा अन्य दलबाट निर्वाचित जनप्रतिनिधि र स्थानीयस्तरमा प्रभाव राख्ने स्थानीय नेता कार्यकर्ताहरूलाई आफ्नो दलमा भित्रयाउन मुख्य दलहरू सक्रियताका साथ लागि परेका छन् । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन तय भइसकेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत बिहीबार मात्रै पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई तामझामका साथ कार्यक्रम आयोजना गरेर काँग्रेसमा प्रवेश गराएको थियो। काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रौनियारलाई आफैं उपस्थित भएर काँग्रेस प्रवेश गराएका थिए । उनी नेपाली जनता दलबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए ।
यसैगरी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी शनिबार मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित बनेका थिए । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैं वीरगन्ज पुगेर एमालेमा भित्रायाएका हुन् । सरावगीको पहिलो रोजाइ काँग्रेस थियो । तर, काँग्रेसबाट राम्रो ‘रेस्पोन्स’ नआएपछि अन्तिममा उनी एमालेमा गएका हुन् ।
पर्साकै जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियासमेत यसअघि नै नेकपा एमालेमा प्रवेश गरेका थिए । उनलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए ।
यस्तै, माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयरसमेत गत बुधबार एमालेमा प्रवेश गरेका थिए । मेयर दिलिपकुमार अग्रवाल र उपमेयर केशवकुमारी खराललाई एमाले अध्यक्ष ओलीले रंगेलीमै आयोजित एक कार्यक्रमबीच एमालेमा भित्रायाएका हुन् ।
यसैगरी, केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुर्खेतमा आयोजित प्रदेशस्तरीय प्रशिक्षणमा जिल्ला समन्वय समितिका नेपाली काँग्रेसका उपप्रमुख ज्ञानीप्रसाद शर्मालाई माओवादी केन्द्रमा प्रवेश गराएका थिए ।