काठमाडौं । सतहत्तरवटै जिल्ला प्रहरी कार्यालयअघि आइतबार भिड लाग्यो। त्यो भिड ‘४० दिने म्यादी प्रहरी’ मा आवेदन दिनेको थियो।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी पनि खटाइने भएको छ। त्यसका लागि नेपाल प्रहरीले आइतबारदेखि आवेदन फाराम लिन सुरु गरेको छ।
४० दिने म्यादी जागिरको लालसा बोकेर जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन लाम लागेका युवाको भिडले देशमा बेरोजगारीको अवस्था छर्लंग पारिदिएको छ। ४० दिने म्यादी जागिरको लालसामा दुधेबालक काखीमा च्याँपेका महिलासमेत घण्टौं लाममा उभिएकोे देखियो। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गरिने सूचना चैत १ मा प्रकाशित गरेको थियो। सोही सूचनाअनुसार आइतबारदेखि आवेदन फाराम लिन सुरु गरिएको छ।
यसका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले शुक्रबार (चैत ११ गते) सम्म आवेदन दिनसक्ने समयसीमा तोकिएको छ। आवेदन फाराम बुझाउन पहिलो दिन आइतबार देशभरका जिल्ला प्रहरी कार्यालयअघि ठूलो संख्यामा युवा जम्मा भए।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार धेरैजसो जिल्लामा साँझ ६ बजेसम्म पनि आवेदन फाराम बुझाउने युवा लाममा थिए। ‘पहिलो दिन नै फाराम बुझाउन आउनेको ठुलो भिड देखियो।