एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु

एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु

२०७८, चैत्र ९ बुधवार

  • 1.1K
    SHARES

  • एमसिसी परियोजना अघि बढ्दैः मुआब्जा र जग्गा अधिग्रहणको प्रक्रिया सुरु

    काठमाडौं । प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० कम्प्याक्ट अन्तर्गतको परियोजना कार्यान्वयन अन्तर्गत नुवाकोटमा सबस्टेसन निर्माणका लागि अधिग्रहण गरिएका घरजग्गा खाली गराउने प्रक्रिया अघि बढाइएको छ।

    मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले मंगलबार सार्वजनिक सूचना जारी गरी ४०० केभी रातमाटे सबस्टेसनको लागि अधिग्रहण गरेर मुआब्जा वितरण गरिएको घरजग्गा ३५ दिनभित्रै खाली गर्न अनुरोध गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

    समितिले जारी गरेको सार्वजनिक सूचनामा अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्य अविलम्ब अघि बढाउनुपरेकाले मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेकाहरूले अधिग्रहण गरिएका जग्गा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र खाली गर्न अनुरोध गरिएको छ।  

    मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिका सूचना अधिकारी राजिव दाहालले यसअघि नै अधिग्रहण भइसकेको करिब ३ सय ८५ रोपनी क्षेत्रफलमा स्थानीयले खेतिपाती गर्दै आएकाले सो हटाउन सार्वजनिक सूचना जारी गरिएको बताए । 

    ‘सरकारले जनताबाट जग्गा अधिग्रहण गरिसके पनि जनताले खेतिपाती गर्दै आइरहेका थिए, उनले भने, ‘अब सबस्टेसन लगायत पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले पनि खाली गर्न अनुरोध गरेका हौं।’  

    समितिका अनुसार सबस्टेसन निर्माणका लागि ३ सय ९८ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। तीमध्ये ७ रोपनी जग्गाको लालपुर्जा रहेको छैन। लालपुर्जा नहुने जग्गाको विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर मात्रै टुंगो लगाइने गर्छ। त्यसैगरी करिब तीन रोपनी जति जग्गाको धनीसम्बन्धी विवादले कसलाई मुआब्जा दिने भन्ने टुंगो लाग्न सकेको छैन।

    समितिका सूचना अधिकारी दाहालले यो खण्ड अन्तर्गत करिब ९९ प्रतिशतले मुआब्जा बापतको रकम बुझिसकेको बताए । समितिले आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्ति तथा अधिग्रहणको लागि करिब १८ महिना समय लाग्ने जनाएको छ।

    ४०० केभीको ३१५ किलोमिटर प्रसारण लाइन टावर जाने ठाउँको पनि जग्गा प्राप्त गर्नुपर्ने हुन्छ। आयोजनाको टावर निर्माण गरिने ठाउँमा त अनिवार्य रूपमा जग्गा प्राप्त गर्नुपर्ने हुन्छ। अर्कोतर्फ प्रसारण लाइनको राइटअफ वेको पनि दायाँ–बायाँ २३–२३ मिटर जग्गा छाड्नुपर्ने हुन्छ। समितिका दाहालले तीन महिनाभित्र एमसिसीको जग्गा प्राप्तिको लागि जग्गा अधिग्रहण सूचना जारी गर्ने तयारीमा रहेको बताए । 

    ‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब–स्टेसन निर्माण गर्न तारबार गर्ने कार्य अघि बढाउन मुआब्जा लगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

    २०७८, चैत्र ९ बुधवार०९:११:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार