काठमाडौं। अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ।
राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको सटही दर एक सय २२ रूपैयाँ २२ पैसा तोकेको थियो। त्यस्तै उसले आइतबारका लागि एक सय भारुको सटही दर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको थियो। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारु पाउने अवस्था छैन। मागअनुसार आपूर्ति नभएपछि डलर र भारुको विनिमय दरमा चाप परेको हो।
अहिले बजारमा एक डलर र एक सय भारु लिन क्रमशः एक सय २५ र एक सय ६५ नेपाली रूपैयाँ तिर्नु परेको व्यवसायी बताउँछन्। वैध रूपबाट (जुन मूल्य छ त्यसैलाई भन्सारमा घोषणा गरेर ल्याउने) आयात गरेका सामानको भुक्तानी गर्न राष्ट्र बैंकले व्यवसायीलाई विदेशी मुद्रा उपलब्ध गराउँछ।
भन्सारमा मूल्य घटाएर ल्याएका सामान र भन्सार छलेर ल्याएका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैंले बजारबाट डलर र भारु किन्नुपर्छ। अहिले मुलुकभर अमेरिकी डलर र भारु अभाव भएकाले कालो बजारमा सट्टादर बढेको हो ।
राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले बजारमा डलर र भारुको कालो बजारी भइरहेको सूचना आएको जानकारी दिए । उनका अनुसार विदेशी मुद्रा सटहीमा यस्तो चलखेल गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने अधिकार राष्ट्र बैंकसँग छैन।
यही कारण राष्ट्र बैंकले नेपाल प्रहरी, राजस्व अनुसन्धान विभागलगायतका निकायलाई कारबाहीका लागि यस्ता सूचना पठाउने गरेको छ। ‘प्रतीतपत्र खोलेर वा अन्य वैधानिक माध्यमबाट सामान आयात गर्नेलाई आवश्यक डलर र भारु राष्ट्र बैंकले सधैं दिँदै आएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘अवैधानिक कारोबार गर्ने व्यवसायीले अभावका कारण डलर र भारु किन्न बढी मूल्य तिरेका हुन सक्छन्।’
कार्यकारी निर्देशक श्रेष्ठले अहिले बजारमा डलर र भारु दुवै अभाव भएको बताए । उच्च आयात हुँदा त्यसअनुसार रेमिटेन्स र अन्य प्रणालीमार्फत विदेशी मुद्रा नआएकाले सरकार आफैं पनि विदेशी मुद्रा व्यवस्थापनमा असजिलो अवस्थामा छ। चालु आर्थिक वर्षदेखि विदेशी विनिमय सञ्चिति प्रतिमहिना औसतमा ३२ अर्ब रूपैयाँभन्दा बढीले घट्दै आएको छ।
गत असारमा १३ खर्ब ९९ अर्ब रूपैयाँबराबर विदेशी मुद्रा सञ्चिति भएकोमा अहिले ११ खर्ब ७३ अर्ब रूपैयाँमा झरेको छ। अमेरिकी डलर मात्र नभएर यो वर्ष सरकारसँग भारु पनि अभाव छ। यही कारण भारतसँगको व्यापारमा भुक्तानी गर्न सरकारले डलर बेचेर भारु किनिरहेको छ।