काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारका अधिकांश मन्त्री बदनाम देखिएका छन् । सरकार गठन भएको एक वर्ष पुग्नै लाग्दा धेरै मन्त्री व्यवहार शैली र अनियमितताका कारण बदनाम हुन पुगेका हुन् । केही मन्त्री भने गुमनाम छन् ।
मन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण नीति योजना बनाएर सोहीअनुसार कर्मचारीतन्त्र दौडाउनुपर्छ तर अधिकांश सोहीअनुसार कर्मचारीतन्त्र दौडाउन असफल देखिएका छन् । प्रभावकारी कार्य गरेर चर्चामा आउनुपर्नेमा अधिकांश मन्त्री गलत कर्म र अनियमितताका कारण बदनाम भएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
बदनामका कारण धेरै मन्त्री यस अवधिमा विवादास्पद देखिएका छन् । अर्थमन्त्री जनार्दन शर्मा सुरुमै अमेरिकाबाट आएको व्यापारी पृथ्वी शाहको शंकास्पद र अवैध ४० करोड छुटाउन राष्ट्र बैंकलाई आदेश दिएपछि विवादमा परेका थिए । अर्थमन्त्रीको आदेश ‘अस्वीकार गरेको’ भन्दै उनकै प्रस्तावमा सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको थियो । तर, सर्वोच्च अदालतले अधिकारीलाई पुनर्बहाली गरिदिएपछि शर्मा नैतिक संटकमा परे । यो प्रकरणमा अर्थमन्त्रीको राजीनामा माग गरिए पनि उनले गरेनन् ।
यसैगरी, बजेट बनाउँदासमेत शर्माले अन्तिम समय आएर पूर्वसुब्बामार्फत विभिन्न स्वार्थ समूहको दबाबमा करको दर घटाउने, बढाउने काम गरी विवादमा आएका थिए । यस प्रकरणमा पनि संसद्मा अर्थमन्त्रीको राजीनामा मागेर संसद् नै अवरुद्ध पार्दासमेत अर्थमन्त्रीले राजीनामा दिएनन् ।
वर्तमान सरकारमा बदनाम भएका अर्का मन्त्री हुन्, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले । उनले पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीलाई दुव्र्यवहार गरे । केही दिनअघि मात्रै उनले नेपाल वायुसेवा निगमका तत्कालीन अध्यक्ष युवराज अधिकारीलाई दुव्र्यवहार गरेका थिए । उनले अधिकारीलाई मन्त्रालयमै बोलाएर आपूmले लगाएको काम ‘नगरेको’ भन्दै दुव्र्यवहार गरेका थिए । उनीमाथि केही क्यासिनोसँग असुली धन्दा सञ्चालन गरेको आरोपसमेत छ ।