अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्यो, नेपालमा घटेन

अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्यो, नेपालमा घटेन

२०७९, श्रावण २३ सोमवार

  • 1.2K
    SHARES

  • अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्यो, नेपालमा घटेन

    काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। 

    अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिब्यारेल इन्धनको मूल्य घटेर ९४.९२ डलरमा झरेको छ। गत जुलाई ६ मा प्रतिब्यारेल इन्धनको मूल्य सय डलर थियो। यसअघि गत १५ मार्चमा उच्चतम मूल्य प्रतिब्यारेल ११९.६५ डलर पुगेको थियो। अहिले आर्थिक मन्दीका कारण पेट्रोलियम पदार्थको मागमा कमी आउन सक्ने आकलनले मूल्य घट्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    अमेरिकी बहुराष्ट्रिय लगानी बैङ्क सिटी ग्रुपको अध्ययनअनुसार सन् २०२२ को अन्त्यसम्म कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६५ डलरसम्म आउन सक्छ। रुसले युक्रेनमा आक्रमण गरेसँगै युरोपेली सङ्घका मुलुकले रुसबाट तेल आपूर्तिमा प्रतिबन्ध लगाएपछि तेलको मूल्य एक्कासि बढेको थियो। 

    कच्चा तेलको मूल्यले नेपाली बजारसम्म प्रभाव पार्छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गर्दै आएको छ। आईओसीले प्रशोधन खर्च र कच्चा तेलको मूल्यअनुसार नेपाललाई प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य सूची पठाउँछ। 

    निगमका अनुसार पछिल्लो १६ जुलाई र १ अगस्ट दुई पटकमा गरेर पेट्रोल प्रतिलिटर ३२ रुपियाँ ५७ पैसा, डिजेल २५ रुपियाँ ७४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ७८ रुपियाँ मूल्य घटेर आएको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायले मूल्य घटेर आए पनि घाटा बढी भएकाले तत्काल मूल्य बढाउन नसकिएको बताउनुभयो। घटेको मूल्य सूचीका आधारमा निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटबढ गर्नुपर्नेमा त्यो नगर्दा उपभोक्ता मारमा परेका छन्। 

    राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले घाटा पूर्ति गर्ने नाममा मूल्य नघटाएर निगमले उपभोक्ता ठगिरहेको बताए । उनले भने, “मूल्य बढ्दा तत्काल बढाउने र घट्दा नघटाउने ?, त्यसको असर उपभोक्तामा परेको छ।” 

    सरकारले गत असार ११ गते कर कटौती गर्ने भन्दै पेट्रोलमा २० र डिजेलमा २९ रुपियाँ घटाएको थियो तर कर समायोजन नभएको भन्दै निगमले मूल्य घटाउन मानेको छैन। करबारे सरकारी निकायबीच नै मत भिन्नता छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी कर छुट गर्ने विषय अर्थ मन्त्रालयको रहेको बताउँछन् तर कर घटाउने घोषणा भने सोही मन्त्रालयबाट भएको थियो।

    अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौला इन्धनमा कर छुट नभएर उपभोक्तालाई राहत दिन वाणिज्य मन्त्रालयले मूल्य घटाएको जिकिर गर्छन् । यस्तै मन्त्रालयगत विरोधाभाषका कारण उपभोक्ता मूल्य वृद्धिको मारमा परेका छन्।

    २०७९, श्रावण २३ सोमवार०७:४०:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार