काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न विधेयकहरू पारित गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री मोहम्मत इस्तियाक राईले प्रस्तुत गरेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ र अर्थमन्त्री जर्नादन शर्माले प्रस्तुत गरेको अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७९, बहुमतले पारित गरेको हो ।
यसअघि बीमा विधेयकका विषयमा सांसदहरुले छलफलका क्रममा उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पुनर्विमालाई सरल बनाइएको, बीमा दाबी प्रदेशमा पनि गर्न सकिने, बिमाको पहुँच गाउँका दुरदराजसम्म पुर्याइने बताए।
अर्थमन्त्री शर्माले बिमा क्षेत्रको विकृति विसङ्गतिलाई हटाउन सरकारले विशेष प्राथमिकता दिएको बताए ।
प्रतिनिधिसभाको अर्को बैठक साउन ३१ गते मङ्गलवार बिहान ११ः०० बजे बस्नेछ ।