तम्घास । गुल्मीको सिमीचौरमा विमानस्थल निर्माण भएको पाँच वर्षभन्दा बढी भइसकेको छ तर अहिलेसम्म विमान सेवा सञ्चालन हुनसकेको छैन ।
३३ करोड रुपियाँभन्दा बढी लगानी गरेर निर्माण सम्पन्न गरिएको यो विमानस्थलमा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका छन् । स्थानीय बासिन्दा भने कहिले जहाज आउँछ भनेर प्रतीक्षा गरेर बसेका छन् । सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थल घुम्न आउने बढेका छन् ।
यो विमानस्थलको धावन मार्ग कालोपत्रे गरेर रङरोगनले चिटिक्क बनेको छ । विमानस्थल अवलोकनका लागि जिल्ला र बाहिरबाट समेत दैनिक सयौँ व्यक्ति पुग्छन् । विमानस्थलबाट गुल्मी, पाल्पा तथा अर्घाखाँचीका दृश्यावलोकन गर्न सकिने भएकाले अहिले सो विमानस्थल अवलोकन गर्न आउनेको सङ्ख्या बढेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
विमानस्थल धावन मार्गको ५२० मिटर लम्बाइ र चौडाइ २० मिटर रहेको छ । कुल १५६ रोपनी जग्गामा विमानस्थल छ । विमानस्थल निर्माणका लागि मुआब्जा दिने गरी १४ घरबस्ती विस्थापित र २८ घरपरिवारको जग्गा अधिग्रहण गरिएको छ ।
उडान गर्न अनिच्छुक विमान कम्पनी
यो विमानस्थलमा २०७५ साल जेठ २५ गते तारा एयरले सफल परीक्षण उडान गरेको थियो तर अहिलेसम्म व्यावसयिक उडान हुन सकेको छैन ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले दुर्गममा उड्ने जहाजको सङ्ख्या नै कम भएका कारण नियमित उडान गर्न नसकिएको बताए । निजी विमान सेवा कम्पनीले नाफा नभएसम्म उडान नगर्ने भएकाले समस्या भइरहेको उनको भनाइ छ ।
यो वर्ष रेसुङ्गा विमानस्थलमा कन्ट्रोल टावरका उपकरण जडानको काम हुने जानकारी दिँदै उनले निजी कम्पनीसँग नियमित उडानको विषयमा छलफल भइरहेको जानकारी दिए ।