काठमाडौँ । सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्ने भएको छ ।
बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि सहमतिको प्रयासका लागि आज पुनः बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कुनै ठोस परिणाम निकाल्न सकेन ।
समाजवादी उपगठबन्धनले कांग्रेसलाई निर्वाचन पश्चात कुनै पनि हालतमा एकल या वाम गठबन्धन बिनाको सरकार बन्ने गरि सिट संख्यामा भागबण्डा नगर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लागेको चाल पाएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवा ससंकित बनेका गोप्य स्रोतले बतायो ।
प्रचण्डको सोही रणनीतिका कारण ८०-८५ सिटमा चित्त बुझाउने मनसाय राखेका देउवा हाल १०० सिट भन्दा तल झर्न नहुने बटम लाइनमा रहेका छन् ।
महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई निरन्तर वाम समाजवादी योजना सुनाइरहेका जनाइएको छ । वरिष्ठ नेता शेखर कोइरालाले मुखै खोलेर १०० सिट भन्दा तल नझर्ने बताए पछि प्रचण्ड थप आक्रोसित बनेका देखिन्छन् ।
राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरीले जनाए अनुसार नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक पटक निष्कर्षविहीन बन्दै आएको छ । नेपाली काँग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।
समाजवादी गठबन्धन भित्रै पनि सिट संख्या मिलाउन महाभारत बन्दै गएको बताइएको छ । बुधवारै एक कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने बताएका छन् ।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका थिए ।