काठमाडौँ । दोल्ती पावर कम्पनीले सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपीओ निष्कासन गरेको छ।
कम्पनीले आज फागुन ८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता निष्कासन गरेको हो। साथै, कम्पनीले सर्वसाधारणलाई निष्कासन हुने कित्ताको १०५ अर्थात १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले फागुन २५ गतेसम्म उक्त आइपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद चैत ७ गते सम्म लम्बिने कम्पनीले जनाएको छ।
त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आइपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ। यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गरेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले स्थानिय बासिन्दाले आयोजनाको कार्यालय नौमुले दैलेख, एनआइसी एसिया बैंकको नर्वाचवार कार्यालय दैलेख, ग्लोबल आइएमई बैंकको देवकोटा चोक दैलेख र प्रभु बैंकको देवेन्द्रचोक कार्यालय दैलेख शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यसैगरी, एनआइसी एसिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।