अप्पर तामाकोशीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

अप्पर तामाकोशीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

२०८०, भाद्र १८ सोमवार

  • 733
    SHARES

  • अप्पर तामाकोशीको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौं । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले आज (भदौ १८ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

    अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ।

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।

    हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।

    कम्पनीले दोस्रो चरणमा निर्माण गर्ने लक्ष्य लिएको २०.६६ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना सहित समग्र रोल्वालिङ डाइभर्सन स्किमका लागि समेत वित्तीय व्यवस्थापन गर्न आवश्यक भएकोले हकप्रद शेयर जारी गर्ने निर्णय गरिएको हो। 

    २०८०, भाद्र १८ सोमवार०८:५६:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार