काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन् ।
जिल्लाको सातौं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा भरखरै सम्पन्न अन्तिम मत परिणाम अनुसार निकट प्रतिस्पर्धी निर्मल देउलालाई १ सय ७९ मतान्तरले पराजित गर्दै निरौला निर्वाचित भएका हुन् । निरौलाले ३ सय ७० मत प्राप्त गरेका थिए भने देउलाले १ सय ९१ मत मात्र प्राप्त गरे ।
त्यस्तै, उपाध्यक्षमा २ सय ६४ मतका साथ विश्वराम सापकोटा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नवराज पराजुलीले १ सय ७४ मत प्राप्त गरे ।
त्यसैगरि, सचिवमा ३ सय ७० मत प्राप्त गरि राजेश शाक्य विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी सत्य नारायण डंगोलले १ सय ९१ मत मात्र प्राप्त गरे ।
पदाधिकारी अन्तर्गतको उपसचिवमा उद्धव भण्डारीले ३ सय ७० मतका साथ विजयी हुँदा उनका प्रतिस्पर्धी गुन्जमान सिंह बस्नेतले २ सय १८ मत प्राप्त गरे ।
अर्की उपसचिवमा बिन्दु महर्जन यसअघि नै सर्वसम्मत भएकी थिइन् । सदस्यहरुको मत गणना जारी छ ।
यही जेठ २६ गतेदेखि जारी महाधिवेशनमा दुई सय २५ पदमध्ये एक सय ३० पदमा निर्विरोध भएको थियो । ९५ पदका लागि निर्वाचन भएको हो ।
कुल मतदाता ५ सय ८५ रहेकामा निर्वाचनमा ५ सय ६१ मत खसेको थियो ।