काठमाडौं । सचिवालयको बैठक मध्यरातसम्म चलेपछि नेकपा एमालेको पोलिटब्युरो बैठक दुई घण्टा पछि सारिएको छ ।
केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार पोलिटब्युरो बैठक शुक्रबार दिउँसो १ बजेलाई सारिएको छ ।
यसअघि शुक्रबार बिहान ११ बजेका लागि पोलिटब्युरो बैठक डाकिएको थियो । ‘सचिवालयको बैठक लामो चलेकाले पोलिटब्युरो बैठक दुई घण्टालाई सारिएको छ,’ उनले भने ।
विहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव बहुमतिय आधारमा अनुमोदन गरेको छ ।
साथै दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै आगामी भदौमा हुने विधान महाधिवेशन प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ ।
सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट पनि निर्णय भएमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशन प्रतिनिधि बन्न नपाउने देखिन्छ ।
करिव १० घण्टा चलेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता ईश्वर पोखरेलबिच लामै वादविवाद र नोकझोँकका साथ बैठक समापन भएको स्रोतले जनायो ।