काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन्।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार पार्टी केन्द्रीय सदस्यहरुले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरुमा सहमति जनाएका छन्। बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठानिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सम्पन्न भएको गौतमले बताए।
उनले भने, ‘गण्डकी, मधेस प्रदेश र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुले आफ्नो राय राखिसक्नुभएको छ। पार्टीको केन्द्रीय सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेको सबै विषयहरुमा केन्द्रीय सदस्यहरुले सहमति जनाएर आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित केही सुझाव पेश गर्नुभएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई उहाँले गम्भीरताका साथ लिनुभएको छ। केन्द्रीय सदस्यहरुले पनि यस विषयमा एउटा राजनीतिक निर्णय गर्ने कुरामा जोड दिनुभएको छ।’
आजबाट शुरु भएको बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ। भोलिसम्म चल्ने बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई ३/३ मिनेट बोल्ने समय दिइएको छ।