काठमाडौं । नेकपा एमालेले भुईँफुट्टे राजनीति गर्ने कार्यकर्तालाई लगाम लगाउने भएको छ । पार्टीको सम्पर्क कमिटीको नेता बनेर नेता वरिपरि घुम्ने तर आफ्नै भुगोल र जनाधारमा कुनै पहिचान नभएकाहरुलाई निश्चित क्षेत्रमा केन्द्रीत गर्ने गरि विधानमा व्यवस्था गर्ने भएको छ ।
पार्टीलाई वडादेखि टोल तहसम्म विस्तार गर्ने लक्ष्यसहित सम्पर्क समिति संरचना थप सुदृढ गर्दै काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम रहेको व्यक्ति कुनै सम्पर्क कमिटी वा मञ्चको पदाधिकारी बन्न नपाउने प्रावधान समेत विधानमा प्रस्ताव गरिएको छ । सम्पर्क कमिटीमा झण्डैँ १५ प्रतिशत नेता कार्यकर्ता मताधिकार एकातिर र कार्यक्षेत्र अर्कोतिर गरि गैर जिम्मेवार भुमिकामा रहेका बताइएको छ ।
अब, विधानमा पार्टी सदस्यता दुई प्रकारको हुनेछ : सामान्य सदस्य र संगठित सदस्य । संगठित सदस्यता ती नागरिकलाई दिइनेछ जो पार्टीको नीति, नेतृत्व र संगठन निर्माणमा प्रत्यक्ष संलग्न छन् ।
नयाँ विधानको प्रस्तावनामा पनि भाषिक र भावनात्मक संशोधन गरिएको छ । अब ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा’ भन्ने सन्दर्भलाई ‘राष्ट्रिय गन्तव्य’ मा रूपान्तरण गरिएको छ ।
त्यस्तै, ‘समाजवाद स्थापना गर्न प्रतिबद्ध छ’ भन्ने उद्देश्यलाई ‘नेपाली विशेषतासहितको समाजवादको स्थापना गर्न प्रतिबद्ध’ भन्ने वाक्यांशद्वारा प्रतिस्थापन गरिएको छ ।
एमालेले आफूलाई ‘जनआधारित कार्यकर्ताको पार्टी’ भनेर परिभाषित गर्ने विधानमा पनि स्पष्ट उल्लेख गरिएको छ । यसले नीति निर्माणमा सचेत र संगठित कार्यकर्ताको निर्णायक भूमिका सुनिश्चित गर्ने बताइएको छ ।
एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ । महासचिव शंकर पोखरेलले २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको संगठनात्मक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार हालसम्म ६ लाख ५० हजार सदस्य पुगिसकेका छन् । विगत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले यो विवरण प्रारम्भिक भएको र आउने क्रम जारी रहेको जानकारी दिए ।
हालसम्म ७ सय ५३ पालिकामध्ये ६ सय ५३ मा अधिवेशन सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा सबै पालिकाको अधिवेशन सकिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही पालिकामा अधिवेशन हुन बाँकी छ ।