कोभिड : सङ्क्रमणले आक्रान्त नेपाललाई खोप दिन प्रधानमन्त्री केपी ओलीद्वारा यूकेलाई आग्रह

कोभिड : सङ्क्रमणले आक्रान्त नेपाललाई खोप दिन प्रधानमन्त्री केपी ओलीद्वारा यूकेलाई आग्रह

२०७८, जेठ २२ शनिवार

  • 881
    SHARES

  • कोभिड : सङ्क्रमणले आक्रान्त नेपाललाई खोप दिन प्रधानमन्त्री केपी ओलीद्वारा यूकेलाई आग्रह

    नेपालका प्रधानमन्त्रीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन्।

    कोरोनाभाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेको देशका केपी शर्मा ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका हुन्।

    ओलीले यूकेका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन्।

    नेपालमा पछिल्लो महिना दैनिक नौ हजारभन्दा धेरै सङ्ख्यामा दैनिक सङ्क्रमण पुष्टि हुने गरेको थियो।

    ओलीले भने, "म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुस्ख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु।"

    जटिल अवस्था

    सङ्क्रमित हुनेको दर विश्वमै उच्च रहेकोमध्ये नेपालमा मे महिनामा एकाएक कोरोनाभाइरस पुष्टि हुनेको सङ्ख्या बढेको थियो।

    सो महिनामा मात्र चार हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका थिए।

    छिमेकी भारतमा जस्तै नेपालले समेत अस्पतालका शय्या र अक्सिजनको आपूर्ति अभावसँग जुझिरहेको छ।

    राजधानी काठमाण्डूजस्ता केही ठाउँमा अवस्था केही सामान्य भइरहे पनि यतिखेर भाइरस ग्रामीण क्षेत्रमा फैलिरहेको छ।

    फेब्रुअरी महिनाको सुरुतिर नेपालमा दैनिक जसो एक सयको हाराहारीमा सङ्क्रमितहरू देखा परिरहेकामा मे महिनाको सुरु तिरै उक्त सङ्ख्या दैनिक नौ हजारतिर पुग्यो।

    छिमेकी भारतमा जस्तै नेपालले समेत अस्पतालका शैय्या र अक्सिजनको आपुर्ति अभावसँग जुझिरहेको छ।
    treatment.jpg
    एप्रिलयता सुरु भएको देशव्यापी लकडाउन अझै धेरै ठाउँमा जारी छ।

    तर कतिपयले त्यस्तो प्रतिबन्धको व्यवस्था ढिलो गरी ल्याइएको बताउँछन्।

    भारतसँगको रहेको खुला सीमाका कारण त्यहाँ रहेका श्रमिकहरू घर फर्कँदा भारतमा पहिले देखा परेको डेल्टा भाइरस छिट्टै नेपालमा फैलिएको आलोचकहरू बताउँछन्।

    पूर्ण मात्र खोप लगाउने तीन प्रतिशत

    उक्त हिमाली मुलुकले केही अन्तर्राष्ट्रिय सहायता पाएको छ जसमा यूकेले दिएको २६० वटा भेन्टिलेटर र २ हजारको सङ्ख्यामा पीपीई सामग्री समेत छन्।

    तर प्रधानमन्त्री ओलीले आफूलाई चाहिएको कुरा खोप भएको बताउँछन्।

    झन्डै तीन करोड जनसङ्ख्या भएको नेपालका तीन प्रतिशतभन्दा कम मानिसहरूले मात्र पूर्ण मात्रा खोप लगाएका छन्।

    ओलीले भनेका छन्, "यदि हामीले मानिसहरूलाई खोप दिन सक्यौँ भने कोभिड-१९ नियन्त्रण गर्न सक्छौँ अन्यथा हामीलाई कठिन हुने छ।"

    नेपाली अधिकारीहरूले चीनबाट केही खोप मगाएका छन्।

    तर भारतको सङ्कटबीच उसले वाचा गरेको खोप नदिँदा आस्ट्राजेनेकाको पहिलो मात्र खोप लिइसकेका ज्येष्ठ नागरिकहरू यतिखेर दोस्रो मात्रा लिन पाइरहेका छैनन्।

    ओलीले थप के भने ?

    ओलीले नेपालको 'सबैभन्दा पुरानो मित्र'का रूपमा यूकेलाई सिधा आग्रह गरिएको बताउँछन्।

    "आफ्नो ज्यान दाउमा राखेर गोर्खाहरूले वर्षौँ यूकेको सेवा गरेका छन्," उनले भने।

    "ब्रिटेनमा सेवा गरिरहेकाहरूका नेपालमा परिवार छन्। त्यो नै सबैभन्दा घनिष्ठ सम्बन्ध हो।"

    मे महिनामा मात्र ४ हजारभन्दा बढ्ता मानिसहरूले कोभिड जोडिएका घटनामा ज्यान गुमाएका थिए।
    dahasanskar.jpg
    मे महिनामा मात्र चार हजारभन्दा बढ्ता मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका थिए

    यूकेको विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीलाई आफूहरू 'यस महामारीमा नेपालसँग काँधमा काँध मिलाएर उभिने' र ऊ 'नेपाललाई जीवनदायी स्वास्थ्य सामग्री दिने र स्वास्थ्य विज्ञहरू पठाउने पहिला केही देशमध्ये रहेको' बताउँछन्।

    "अन्तर्राष्ट्रिय रूपमा खोप किन्ने र समान रूपमा वितरण गर्ने कोभ्यास्क कार्यक्रमका लागि यूके शीर्ष सहायताकर्ता हो," ती प्रवक्ताले थप भनेका छन्।

    "हामीले ५०.४८ करोड पाउन्ड स्टर्लिङ उक्त कार्यक्रमका लागि बाचा गरेका छौँ जसले यो वर्ष नेपाल सहितका विकाशशील देशमा १ अर्बभन्दा धेरै मात्रा खोप उपलब्ध गराउनेछ।"

    नेपालका परराष्ट्रमन्त्रीले ब्रिटिश समकक्षी डोमिनिक राबसँग कुरा गरे तापनि ओलीले आफूले प्रधानमन्त्री जोनसनसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने प्रयास गरिरहेको बताएका छन्।

    यूकेलाई त्यस्तो आग्रह भइरहँदा अमेरिकाले आफ्नो सहायता अन्तर्गत नेपाल सहितका एसियाली देशहरूलाई ७० लाख मात्र खोप उपलब्ध गराउने जनाएको छ।

    आलोचित प्रधानमन्त्री

    ओलीले महामारी व्यवस्थापनका क्रममा यस भाइरसलाई हलुका रूपमा लिएको भन्दै आलोचना खेपिरहेका छन्।

    यसअघि उनले अम्बाको पात र बेसारले कोरोनाभाइरस भगाउने र आफ्ना आहारका कारण नेपालीहरूको प्रतिरोधी क्षमता बलियो भएको दाबी गरेका थिए।

    गत महिना सङ्क्रमण निकै बढिरहँदा उनले नेपालको अवस्था 'नियन्त्रणमै रहेको' बताएका थिए। 

    संसद्मा हालै विश्वासको मत गुमाएका ओलीले केही महिनाअघि आफ्नै पार्टीका सांसदहरूबाट समर्थन नपाउँदा ठूला राजनीतिक र्‍याली र आमसभाहरू आयोजना गरेको भन्दै आलोचना खेपेका थिए। -बीबीसी । 

    २०७८, जेठ २२ शनिवार१२:०३:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार