काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध गराउन पूर्ववत् अवस्थामा फर्किने घोषणा गरेपछि माधव कुमार नेपाल - झलनाथ खनाल समूह विभाजित भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आइतबार राती एक विज्ञप्ति जारी गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन आफू तयार रहेको बताएपछि नेपाल– खनाल पक्षीय नेताहरुले आ आफ्नै किसिमले फरकमत जाहेर गरेका छन् ।
नेपाल–खनाल समूहका अधिकांश युवा नेताहरु ओलीको कदम सकरात्मक भएको भन्दै पार्टीलाई एकताबद्ध गराउनुपर्ने पक्षमा रहेका छन् ।
सोही विषयमा छलफल गर्न नेपाल–खनाल समूहका ४ युवा नेताहरुको छुट्टै बैठक बसेको छ । नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच सोमबार बिहान छलफल भएको हो ।
नेता पाण्डेको निवासमा भएको छलफलमा पार्टीलाई एकताबद्ध बनाउँदै असन्तुष्ट विषयहरुलाई अन्तरसंघर्ष गर्ने निष्कर्षमा पुगेका हुन् ।
नेताहरुले आफ्ना मागअनुसार पार्टी अध्यक्ष ओलीको प्रस्ताव आएकाले यसलाई सकारात्मकरुपमा लिएर एकताको पक्षमा उभिनुपर्ने निष्कर्ष निकालेका हुन् ।
“पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णय सकारात्मक छ । यो हामीले माग गरेअनुसार हो । असहमति भएका विषयलाई पार्टीभित्रै छलफल गर्नेगरी एकताको पक्षमा उभिने सहमति भयो,” छलफलमा सहभागी एक नेताले भने ।
खनाल–नेपाल पक्षीय करिब १२ जना नेता एकताको पक्षमा उभिएका छन् । जसमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, नारायण खतिवडा, दीपक भट्ट, राज बहादुर बुढा, गणेश पहाडीलगायत नेताहरु एकताको पक्षमा छन् ।
उनीहरुले माधव नेपाल नआएपनि आफूहरु मूल पार्टीमा फर्किनुपर्ने निष्कर्ष निकालेका छन् ।
नेता योगेश भट्टराई र गोकर्ण बिष्ट लगाएतले नेपाली कांग्रेस सभापती शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा आपत्ति जनाउँदै आएका थिए । उनीहरुले अदालतमा दर्ता गरेको मुद्धामा समेत हस्ताक्षर गरेका छैनन् ।