काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक भोलि असार २ गते बस्दै छ । महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीसँगको छलफलपछि बैठक बोलाएका हुन् ।
असार २ गते बस्ने बैठकमा माधव नेपाल समूहलाई पनि निमन्त्रणा गरिने प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
बैठकमा नेकपा एमालेभित्रको विवाद समाधान र आगामी रणनीतिबारे छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
२ गतेको बैठक अगाडि माधव नेपाल समूहसँग रहेका असमझदारी हटाउने तयारी संस्थापन पक्षको रहेको छ । त्यसका लागि महासचिव पोखरेलले नेपाल समूहका नेताहरुसँग छलफल जारी राखेको स्रोतले जानकारी दियो ।
ओली समूहबाट नेता सुवास नेम्बांग, विष्णु पौडेल, प्रदिप ज्ञवाली र विष्णु रिमाल वार्तामा सहभागि छने भने नेपाल समूहबाट घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिष्ट र भिम आचार्य वार्तामा सहभागि छन् । नेताहरु दैनिक वार्तामा बसेपनि समाधान निस्किसकेको छैन ।
केही दिन अगाडि सर्वोच्च अदालतले जेठ २७ मा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई वैधता दिन अस्वीकार गरेको थियो ।
जुन निर्णयले एमाले एक हुने सम्भावना बढाएको राजनीतिक विश्लेषक बताउँछन् । यता दोस्रो पुस्ताका नेता वार्तामा बसेपनि स्वयं माधव नेपाल चाँहि क्रान्तिकारी पार्टी बनाउन सकिन्छ भनिरहेका छन् ।