काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाईका लागि सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु प्रकाशबहादुर केसी र कोमल प्रकाश घिमिरेलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ ।
सर्वोच्च बारको आज बसेको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति बनेको सदस्य विकास भट्टराईले जानकारी दिए ।
जेठ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्ध परेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।
उक्त मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो ।
प्रतिनिधिसभा विघटन विरुद्धमा सर्वोच्चमा २४ रिट निवेदन दर्ता भएको छ । कुनै गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्ने प्रचलन रहेको छ ।