पौष १२, काठमाडौं ।
कवि भूपि शेरचनका नाममा धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित पुरस्कार कोषमा १९१ जना संस्थापक बनेका छन् । जसमध्ये २६ जना विशिष्ट संस्थापक सदस्य र चार जना संरक्षक छन् । प्रतिष्ठानले २०७३ मा ‘भूपि पुरस्कार’ घोषणा गरेको थियो ।
जनस्तरबाट सहयोग जुटाएर स्थापना गरिएको कोषमा संस्थापक थपिने क्रम जारी छ । न्यूनतम रु एक हजारसम्म दिने संस्थापक र रु पाँच हजारभन्दा माथि सहयोग गर्ने विशिष्ट संस्थापक सदस्य बन्न पाउँछन् ।
यस्तै रु २५ हजारभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गर्ने गरिएको प्रतिष्ठानले जनाएको छ । कोषमा अहिलेसम्म सबैभन्दा बढी कवि भूपिकी धर्मपत्नी कान्ति शेरचनले रु दुई लाख २५ हजार र छोरा समिरमानले रु ५० हजार प्रदान गरेका छन् ।
म्याग्दी घर भई हाल अष्ट्रेलियामा रहेकी सीमा रोशीले रु ४० हजार र बागलुङ घर भई हाल अमेरिकामा रहेका उज्ज्वल खड्काले रु २५ हजार प्रदान गरी कोषको संरक्षक बनेका छन् । विशिष्ट संस्थापक सदस्यमा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष सुधा त्रिपाठीलगायत छन् ।
उनले २०७५ मा पाएको भूपि पुरस्कारको रकम रु १५ हजारमा आफ्नो तर्फबाट एक हजार थपी रु १६ हजार कोषलाई प्रदान गरेकी थिइन् । भूपि पुरस्कारसँगै साहित्यको उत्थान र प्रवद्र्धनको उद्देश्य राखेर कोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।
“देश विदेशमा रहेका भाषा, साहित्यप्रेमी, शुभेच्छुक महानुभाव पुरस्कार कोषमा जोडिएका छन्”, उनले भने । भूपिको सम्मानसँगै उनको साहित्यिक व्यक्तित्वलाई चीरस्थायी बनाउन स्थापित पुरस्कारमा सबै अपनत्व जोडियोस् भनेर सहयोग अभियान चलाइएको प्रतिष्ठानका संस्थापक सदस्य श्याम श्रेष्ठले बताए ।
उनका अनुसार हालसम्म पुरस्कार कोषमा रु सात लाख जम्मा भइसकेको छ । कोष वृद्धि अभियान निरन्तर चल्ने जनाइएको छ । कोषबाट आउने ब्याजबाट वर्षेनि भूपि जयन्तीमा पुरस्कार प्रदान गर्ने गरिएको छ ।
यो वर्षको पुरस्कार ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ नामक समालोचनात्मक कृतिका लागि लेखक एवं समालोचक डा सुकुम शर्मालाई शुक्रबार प्रदान गरिएको थियो । प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई आलोपालो गरी वर्षेनि पुरस्कृत गर्छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली सेवा समिति, बुटवलले पाएको थियो ।
साहित्यिक क्रियाकलाप गर्ने संस्थालाई पुरस्कृत गर्ने गरिन्छ । त्यसअघि २०७५ को भूपि जयन्तीमा ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना’ समालोचनात्मक कृतिका लागि साहित्यकार सुधा त्रिपाठी पुरस्कृत भएकी थिइन् । भूपि पुरस्कार पाउने पहिलो साहित्यकार उनी नै हुन् ।