पौष १२, काठमाडौं ।
तेह्रथुम मोरङ्ग ५ मा २००७ साल साउन १७ गते जन्मनु भई हाल दमक ५ झापामा बसोबास गर्दै आउनुभएका भट्टराई कुल वंश प्रतिष्ठानका संस्थापक अध्यक्ष उदार मनका धनी, समाजसेवी शेरबहादुर भट्टराईले जीवनको सुरुवात शिक्षण पेशाबाट गर्नुभएको हो ।
उहाँ २०४३ सालदेखि दमक नगरपालिका वडा नम्बर १० को ३ पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०४७ सालमा नेपाली कांग्र्रेस प्रवेश गरी नगरसभापति हुँदै क्षेत्रीय सभापति र हाल महासमिति सदस्यसमेत रहनुभएको छ ।
उहाँ उद्धार सहकारी दमक, मेची आवासिय विद्यालय, लाइफ लाइन अस्पताल, दिपेनी विद्यालय, हिमालय मा बि, एडभान्स हस्पिटल, भट्टराई कुल वंश प्रतिष्ठान तथा वशिष्ठ गुरुकुलका संस्थापक अध्यक्ष हुनुहुन्छ ।
भट्टराई कुल वंश प्रतिष्ठान दमक झापामा आरम्भ भइरहेको कुलपुजा तयारी भेलामा सहभागी उनै समाजसेवी शेरबहादुर भट्टराईसँग गरिएको कुराकानीको अंशः
भट्टराई कुल वंश प्रतिष्ठान दमक झापामा हुन गइरहेको कुलपुजा देवालीका बारेमा जानकारी गराइदिनुस् न ।
कुलपूजा १३औं शताब्दीभन्दा पहिलेदेखि गरिआएको हाम्रो महान सांस्कृतिक पर्व हो । आज बसेको भट्टराई कुल वंश प्रतिष्ठानको केन्द्रीय कार्यालय, दमक झापा सचिवालय सहितको बृहत् भेलाले कुलपुजा देवाली २०७७/९/८ बाट शुभारम्भ गरी २०७७/०९/१३ गते छागबली गरी सम्पन्न गर्ने निर्णय गरेको जानकारी गराउँदछौ ।

वर्तमान असहज परिस्थितिमा स्वास्थ्य मापदण्डअनुसार भौतिक दुरी कायम गरी कुल पुजामा सहभागी भै दिनुहुन भट्टराई परिवार, कुल कुटुम्ब, नातागोता, ईष्टमित्र, छरछिमेक सबैलाई सादर अनुरोध गर्दछौ ।
यस प्रतिष्ठानको ऐतिहासिक कुरालाई जोड्न चाहेँ, कहिले, कसरी र क-कसको पहलमा स्थापना भएको थियो ?
२०५० सालमा मोरङ, झापा, सुनसरी पूर्वाञ्चलका सबै जिल्ला र सिक्किम आसाम भारत सम्मका भट्टराई परिवारजनको सल्लाह लिने काम गरियो । यसप्रकारको संस्था स्थापना गर्न सबै भट्टराई परिवारबाट सकरात्मक जवाफ आएपछि मेरै अध्यक्षतामा १९ सदस्यीय संस्थापकहरुको यो संस्था दर्ता भएको हो ।

प्रतिष्ठानले वर्षेनी गर्ने कार्यक्रमका बारेमा पनि जानकारी गराइदिनु न ।
यस प्रतिष्ठानमा प्रत्येक वर्ष दुर्गापुजा, तिजको पूजा र उत्सव, वर्षमा दुईपटक उधौली उभौली, गोठ पूजा, शिवरात्री महाउत्सव, कुलपुजा नहुने वर्ष १८ पुराण मध्येको एक महापुराण, ऋषितर्पणी पुर्णिमा लगायत वार्षिक कुल दर्शन, २४ घण्टा अखण्ड दीप प्रज्वलन र अन्य सम्पूर्ण चाडपर्वहरु पनि मनाइन्छ ।

प्रतिष्ठानको प्राङ्गण भित्र कुन-कुन देवी देवताका मठमन्दिर छन् ?
शिवालय, कुल मन्दिर, भगवान गणेशको मन्दिर, दुर्गा मन्दिर, नागदेवताको मुर्ति, हनुमानको मन्दिर, कुल गुरु वशिष्ठ ज्यूको शालिक, संरक्षक कृष्णप्रसाद भट्टराईको शालिक, बलि पूजा स्थल, दुई तले केन्द्रीय कार्यालय भवन, २ धर्मशाला, गौशाला, पाकशालासमेत एक बिघा जग्गा कम्पाउन्ड वाल, चार बिगाहामा वृक्षारोपण ‘जंगल’ समेतको व्यवस्था मिलाइएको छ ।

यस प्रतिष्ठानले संस्कृत विद्यालय स्थापना गरी वटुकहरुलाई शिक्षा दिइरहेको पनि जानकारी पाएका थियौ, त्यस विद्यालयका बारेमा पनि जानकारी गराइदिनु न ।
प्रतिष्ठानका पहलमा वशिष्ठ संस्कृत गुरुकुल विद्यापीठ २०६६ सालमा स्थापना भएको हो । यसमा ४० जना बटुक र तीन जना शिक्षकहरुको रहनुभएको छ । विद्यालयको आफ्नै भवन पाकशाला, गौशाला समेत ०-१९-१० जग्गामा आवासीय विद्यालयको सञ्चालन छ ।

विश्वभरी छरिएर रहनुभएका सम्पुर्ण भट्टराई परिवारलाई एकत्रित गर्न यस प्रतिष्ठानले गर्नुभएको पहल सह्रानिय छ । अन्त्यमा यस प्रतिष्ठानमा जोडिन चाहनुहुने भट्टराई परिवारजनलाई के सन्देश दिन चाहनुहुन्छ ?
अन्त्यमा: विश्वभर छरिएर रहेका भट्टराईहरु मध्ये भारत, भुटान र बर्मामा समेत समिति गठन भइसकेको र बाँकी अन्य देशमा बसोबास गर्नुहुने भट्टराई परिवारजन सँग पनि जोडिन चाहन्छौं । निकट भविष्यमा वंशावलीको तेस्रो संस्करणको लेखन संकलन कार्य शुरु गर्ने प्रयासमा छौं ।

भट्टराई बन्धुहरुले कुल तथा कुल वंश प्रतिष्ठानका बारेमा थप अध्ययन अनुसन्धानका लागि पनि एक पटक केन्द्रीय कार्यालय भ्रमण गर्न अनुरोध गर्दछु । त्यसै गरी सबै भट्टराई परिवारमा हाम्रो गौरवमय संस्कार र संस्कृतिबाट जोडिन समेत आव्हान गर्दछु ।