पौष १२, काठमाडौं ।
उही बेला मलाई ए-कता भन्थे ?
कोही पेरिसडाँडा भन्थे,
कोही धुमबाराही भन्थे,
दर्शक दीर्घाबाट छक्क परेर हेर्थे।
नेपथ्यबाट
कत्ती पनि हतारो नगर भन्थे,
कसैले सुनेनन !
सुने पनि नसुने झै गरे
कसलाई- कसलाई चाहिएको एकता
अहिले फेरी भन्दैछन ?
ए-कता ? एकता ?
ए-कता ?
बालुवाटार कि कार्की ब्याङ्केट ?
****************
हिजो आज फेरी मलाई ए-कता भन्छन ?
कता जाऊ ? कता जाऊ भा’छ !
बालुवाटार गए - एक पद पक्का
कार्की ब्याङ्केट गए - एक पेट पक्का
प्रदेश पनि खाली हुँदैछ रे
सिंहदरवार पनि खाली छ रे
लौन मनुवा सल्लाह पाऊँ
त्यहाँ पनि एकता हुदैछ रे !
छ्यासमिस एकता !
कता जाऊ ? तानातान छ !
अहिले फेरी भन्दैछन ?
ए-कता ? एकता !
ए-कता ?
बालुवाटार कि ? कार्की ब्याङ्केट ?
****************
अब त कतै जान्न भन्यो
जाऊ जाऊ लागिहाल्छ
बालुवाटार जाऊँ कि ?
कार्की ब्याङ्केट जाऊँ कि ?
भईहाल्छ -
कस्तो नशा लाग्यो ?
बालुवाटारको कुरा सुन्यो - त्यही ठिक
कार्की ब्याङ्केटको कुरा सुन्यो - त्यही ठिक
सुन्दा दुबै ठिक
छाम्दा दुबै बेठिक
हिजै अपवित्र भन्थे
पवित्र गंगाजलले चोख्याए
पद- पैसा - डनबाद- नातावाद -
कृपाबाद- हैकमबाद- को हावी भयो
परजिवीबाद भएको एकता
पसेका थिए - मुसा छुचुन्द्रो ब्वाँसो
प्वाल पार्यो
प्लास्टिक र काँचो भाँडो रै’छ
न टालिन्छ - न जोडिन्छ ?
अहिले फेरी भन्दैछन !
ए-कता ? एकता ?
ए-कता ?
बालुवाटार कि ? कार्की ब्याङ्केट ?
****************
सुन्दर पन्त
नागार्जुन-१०, काठमाडौ ।