मंसिर १५,काठमाडौं ।
साताको दोस्रो कारोबार दिन पनि सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । प्रि ओपनिङ सेसनमा नै ३१.७३ अंकको बृद्धिसहित दुईहजार अंकमा खुलेको थियो ।
इतिहासमा नै पहिलोपटक दुईहजार अंकको बिन्दु पार गरेको नेप्से सुरुवाति समयमा तीव्र उतारचढाब देखिँदा बजार खुलेको पाँचमिनेटमा नै २०२८.७३ अंक हानेको थियो ।
लगत्तै बढ्दो बजारमा नेप्से ओरालो लागेर १९७३ अंक सम्म झर्यो । त्यसपछि पनि उतारचढाव कायम रहेको नेप्सेले दुईहजार अंकको विन्दु पार गरे पनि अन्तिममा भने नेप्से आइतबारको भन्दा २८.७९ अंकले बढेर १९९७.०४ बिन्दुमा बन्द भएको छ ।
दुई हजारको नजिक बन्द भएको बजार परिसूचक अहिलेसम्मकै उच्च हो ।
जीवन बिमा समूहको सूचक सर्वाधिक ७.३४ प्रतिशतले वृद्धि हुँदा त्यसलाई साथ दिँदै व्यापार समूहको सूचक ६.६१ प्रतिशत, हाइड्रोपावर समूहको सूचक ५.९१ प्रतिशत, अन्य समूहको सूचक २.६४ र निर्जीवन बिमा समूहको सूचक २ प्रतिशतले बढेको छ ।
नेप्से आज १९८ कम्पनीको सेयर किनबेच हुँदा करिब ९ अर्बको कारोबार भएको छ । ८३ हजार ५६७ वटा कारोबारबाट २ करोड १५ लाख ९१ हजार ३१९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल लाइफ इन्स्यारेन्सको सर्वाधिक २८ करोड ४८ लाख ८७ हजारको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनी र प्रभु बैंकको पनि ३५ करोड माथिको कारोबार भएको छ ।
सोमबार ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएको छ । युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोसी, ग्रीन डेभलमेन्ट बैंक, नेपाल बंगलादेश बैंकलगायतका लगानीकर्ताले सर्वाधिक कमाउँदा विशाल बजार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।