रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

२०७८, माघ २१ शुक्रवार

  • 1.3K
    SHARES

  • रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

    रुकुमपूर्व । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो ।

    हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ ।

    यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।

    जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ ।

    यसअघि परेको हिउँ बिलाउन नपाउँदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका तेजकुमार गुरुङले बताए ।

    मैकोटलगायत आसपास क्षेत्रमा यसअघि परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएपछि घरबाट बाहिर निस्कन पनि मुस्किल परेको उनको भनाइ छ ।

    बाक्लो हिउँ जमेका कारण मैकोटका नागरिकलाई गाउँपालिकाको केन्द्र तकसेरा र सदरमुकाम रुकुमकोट झर्न समस्या भएको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

    यस्तै हिउँले जमिन ढाक्दा पशुचौपायलाई चरन क्षेत्रको अभाव खड्किएको मैकोटमा अर्का स्थानीयवासी विकास पुनले बताए ।

    पहिले भण्डारण गरी राखेको घाँसपात सकिएकाले अहिले पशुचौपायलाई के खुवाउने भन्ने पिर किसानलाई परेको उनको भनाइ छ ।

    हिमपातका कारण लामो समययता विकास निर्माणका कामकाज सञ्चालन गर्न पनि नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष मग कामीले बताए ।

    समयमै विकास निर्माणका काम सञ्चालन गर्न नसक्दा वडालाई घाटा भएको उनले बताए ।

    यस्तै वडा नं २, ३, ५ लगायतमा पनि विकास निर्माणका काम ठप्प रहेका छन् । यस वर्ष जिल्लामा सातौँ पटकसम्म हिमपात भइसकेको छ ।

    २०७८, माघ २१ शुक्रवार०६:५९:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार