कालिन्चोकमा दश हजार बाख्रालाई पिपिआर खोप

कालिन्चोकमा दश हजार बाख्रालाई पिपिआर खोप

२०७८, फाल्गुण ५ बिहिवार

  • 1.2K
    SHARES

  • कालिन्चोकमा दश हजार बाख्रालाई पिपिआर खोप

    चरीकोट । दोलखाको कालिन्चोक गाउँपालिकाका किसानले पालेका दस हजार बाख्रालाई पिपिआर रोगको खोप लगाइएको छ ।

    कालिन्चोक गाउँपालिकाका किसानले विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा पालन गरेका दश हजार ६०० बाख्रालाई पिपिआर रोगको खोप लगाइएको हो । पालिकामा पिपिआर रोगको उच्च जोखिम रहेको र भेडा तथा बाख्रालाई पिपिआर रोगबाट बचाउन गाउँपालिकाको सबै वडाको टोल–टोलमानै पुगेर पशु प्राविधिकहरूको सहयोगमा खोप लगाएको गाउँपालिकाले जनाएको छ ।

    हिउँदको समय सकिएपछि वर्षात्को समय सुरु हुने बेलामा बाख्रा तथा भेडामा यो रोग देखापर्ने र एकै पटकमा धेरै बाख्रा मर्ने हुँदा बाख्रामा रोग प्रतिरोधात्मक क्षमता बढाउन यो खोप लगाउने गरिन्छ ।

    यो रोग लागेपछि बाख्रामा मुखमा घाउ आउने, ज्वरो आउने, पखला लाग्नेजस्ता लक्षण देखा पर्दछ । एउटा बाख्रामा पिपिआर रोग देखा परेपछि सजिलैसँग अन्य बाख्रामा पनि सर्न सक्ने र एकै पटकमा धेरै बाख्रा मर्नसक्ने सम्भावना हुने गर्छ ।

    कालिन्चोक गाउँपालिकामा गतवर्ष पिपिआर रोगका कारण १६० भन्दा बढी बाख्रा मरेका थिए । पालिकाको सुनखानीमा किसानले पालेका बाख्रा तथा भेडामा अज्ञात रोग देखा परी करिब १६० बाख्राहरू मरेपछि परीक्षण गर्दा पिपिआर देखा परेको थियो ।

    पिपिआर रोगका कारण बाख्रा मर्न थालेपछि रोग लाग्न नदिन किसानलाई सचेत हुन पशुसेवा कार्यालय चरीकोटले आग्रह गरेको छ । कालिन्चोक गाउँपालिकाको विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा नै बाख्रा तथा भेडापालन हुँदै आएको छ ।

    २०७८, फाल्गुण ५ बिहिवार०७:५८:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार