मसानघाटमा दनदनी बलिरहेकी मेरी आमा
स्वर्ग छिन कि नरक कहाँ पुगिन थाहा छैन,
नेपथ्यबाट बेला बेलामा बाबु भने झैँ लाग्छ,
तै पनि सोध्दै छिन बाबु तैँले भात खाईस् ?
************
जिऊँदो हुँदा मेरी आमालाई थाहा थियो
दिनहूँ यताउती गरेको थकित मुद्रा देखेर
कान मै गुन्जिरहन्छ कतै बोलाए झैँ लाग्छ
रात परिसक्यो त अझै घर पुगेको छैनस् ?
************
एक दुई कतै गए कि आमाले देख्दिनन्
चिन्तित हुँदै कसैलाई सोध्न पनि सक्दिनन्
ओछ्यान मैँ पल्टेको देखेर मायाले भन्छिन्
बाबु हिजोआज तँलाई सन्चो छैन कि के हो ?
************
उमेर पुग्यो केटाकेटी पढ्न, बिदेश पठाउन
ब्रतबन्ध बिबाह गर्न ठुलो खर्चको कुरा चल्यो र
अलिकति अँध्यारो अनुहार लाएर बस्यो कि
अझै पनि सोध्दै छिन बाबु तँ संग पैसा त छ ?
************
आमा भन्छिन् जिऊदो हूँदा पनि मरे पनि
यो सबै तिमीहरुकै त हो नि धन सम्पत्ती
कस्तो मन हो आमाको अझै पनि भन्दैछिन
बाबु जति चाहिन्छ दराजबाट झिकेर लैजाऊ !