पौष १५, काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं ३१ को कार्यालय भवन सिलान्यास गरिएको छ ।
भवन प्रस्ताव गरिएको स्थान शान्तिनगरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, प्रदेश सांसद गणेश प्रसाद दुलाल र वडा अध्यक्ष नारायण भण्डारीले आज संयुक्त रुपमा इँटाराखेर सिलान्यास गरे ।

उक्त कार्यक्रममा आयोजक वडा सदस्यहरु रमेश सत्याल, हुमा आचार्य, सरोज ढकाल, सान्नानी मिजार, वडा सचिव सुरेश साहु श्रेष्ठ एवम वडा कार्यालयका अलावा विभिन्न राजनीतिक दलका नेता धन वहादुर अछामी, उज्जन श्रेष्ठ, केशव घिमिरे, गोविन्द गौतम लगाएत वुद्धिजिवी तथा स्थानियको उल्लेखनीय सहभागिता रहेको थियो ।
सुन्धारा स्थित हाल महानगर कार्यालय रहेको वागदरवार भवन बनाउन विभिन्न समस्या सिर्जना गरिएको तर महानगरका ३२ वटै कार्यालय भवन बनाउन आफु युद्धस्तरमा लागेको प्रमुख विद्या सुन्दर शाक्यले बताए । आफु कम बोल्ने तर काम भने गरेरै छाड्ने उद्घोष उनको थियो ।
चुनावका समयमा आ -आफ्ना झण्डा बोक्ने तर सार्वजनिक विकासका काममा प्रमुख सँगै हातेमालो गर्दै अगाडी बढिरहेको उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।
"हामी जे भन्छौं, त्यही गर्छौं " चुनावताका जनताका घरदैलामा जाँदा गरेका प्रतिवद्धता पुरा गर्ने दिशामा छौं, सो क्षेत्रका सांसद गणेश प्रसाद दुलालको भनाई थियो ।

देश चुनावमा होमिएकाले कुनै पनि सिलान्यास गर्न नपाइने भएता पनि विकासका काममा सँधै आफनो साथ रहेको नेपाली कांग्रेस महासमिति सदस्य सुरज चन्द्र लामिछानेको भनाई थियो ।
आफु निर्वाचित भएर आए पछि जनताका सेवामा कुनै कमि हुन नदिएको वडा अध्यक्ष नारायण भण्डारीको दाबी थियो । त्यसै गरि जेष्ठ नागरिक दिवा सेवा भवन, बालबालिका पार्क, ज्येष्ठ नागरिक विश्राम चौतारी, हनुमान पार्क, विनायक पार्क, क्रियापुत्री भवन र वाग्मती कोरीडोर लगायतका निर्माणधिन कार्यलाई प्रदेश सांसद गणेश दुलालसंग समन्वय गर्दै निष्कर्षमा पुर्याउने पनि भण्डारीले बताए ।
प्रस्तावित वडा कार्यालय भवन आगामी दशैँ भित्रै सम्पन्न हुनेमा पनि उनले विश्वास गरे । नयाँ भवनबाट कार्यालय सुचारु गर्दै जनतासमक्ष जाने पनि उनको भनाई थियो ।
एक रोपनी चारआना क्षेत्रफलमा निर्मित हुने भवन साढे तीन तलाको हुनेछ । भवनमा ५० जना सम्म बसेर कार्यक्रम गर्न सकिने हल समेत निर्माण हुनेछ । खुल्ला चौर, अपांग मैत्री, लिफ्ट सहितको सुविधा सम्पन्न भवनमा अण्डरग्राउण्ड मोटरसाइकल पारिकंगस्थल हुने छ भने छुट्टै कानुनी कक्ष रहनेछ । भवनको पुर्वतर्फ ६ मिटर चौडाको १०० मी लम्बाईको पिच मोटर बाटो हुने छ ।

कुल लागत ६,७५,६२,१६२।१० (अक्षेरुपी रु छ करोड पचहत्तर लाख बैसट्ठी हजार एकसय बैसट्ठी रुपैयाँ दशपैसा) इष्टिमेट रकम रहेकोमा ३५ प्रतिशत कमि गरेर ४,६७,४८,०४५।२५ (अक्षेरुपी चार करोड सतसट्ठी लाख अढ्चालिस हजार पैँतालिस रुपयाँ पच्चिस पैसा) भ्याट समेत कार्यादेश रकम रहेको छ ।
भवन निर्माणका लागि प्रकृतिक पवन जेभीले एक वर्ष (२०७८ पौष १४ गते) भित्र सम्पन्न गर्ने गरी ठेक्का लिएको छ ।
हाल कार्यालय रहेको भवन साँघुरो र वडाको एउटा कुनामा भएकाले मध्यभागमा रहेर संचालन हुने गरी कार्य अगाडी बढाइएको जनाइएको छ ।