बिर्घा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भित्रयाउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताए।
धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा जोडदिए । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएलगत्तै त्यसको अनुसरण गर्दै भारतीय धार्मिक पर्यटकको लर्को लागेको थियो, अब पनि त्यही अनुसार प्रचार गर्न सक्नुपर्छ ।’
हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरुको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबीच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशको दक्षिणी भेगमा रहेको गजेन्द्र मोक्षधामदेखि देवघाट, रामदीधाम हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
गण्डकी प्रदेश कालीगण्डकीबाट सिञ्चित पवित्र शालिग्रामको भूमि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यसलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने भनाइ राखे। रामदी नजिकैबाट कालीगण्डकी डाइभर्सन गरी रुपन्देहीको तिनाउमा मिसाएर बिजुली निकाल्ने र सिँचाइका लागि प्रयोग गर्ने गरी अगाडि सारिएको आयोजनाको गण्डकी प्रदेशले यस अघि पनि विरोध गर्दै आएको छ ।
मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीमात्र नभएर सभ्यतासमेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको भनाइ राखे । रामदीदेखि तलको भागको सुख्खा पार्ने र कालीगण्डकीको धार्मिक अस्तित्वलाई मेटाउने गरी यो आयोजना अगाडि सारिएकाले विरोध गर्नुपरेको उनले बताए।
ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता जनाए । उनले भने , ‘यहाँ आउने बाटो र यसको गुरुयोजनाका बारेमा माग भएको छ, पोखरा फर्केपछि यसका बारेमा बुझेर के गर्न सकिन्छ, निर्णयमा पुग्छु ।’
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले आलमदेवीको ऐतिहासिक र धार्मिक पक्षका बारेमा जानकारी लिएका थिए । मन्दिर दर्शनका साथै उनले भजनकीर्तन समेत अवलोकन गरेका थिए ।
स्थानीय बासिन्दा समेत रहनुभएका पूर्व सांसद शंकर पाण्डेले ऐतिहासिक थलो भए पनि आलमदेवीमा आवश्यकता अनुसार विकास हुन नसकेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मन्दिरसम्म पुग्नका लागि सिंढी आवश्यक परेको, नेपाल एकीकरणका बेला र त्यसभन्दा अघिदेखिका महत्वपूर्ण हातहतियार मन्दिरमा रहेको र त्यसको संरक्षण जरुरी रहेको उनले बताए । आलमदेवीको गुरुयोजना संघ सरकारबाट तयार भइसकेको र त्यसको कार्यान्वयनका लागि प्रदेश सरकारले पहल गर्न नेता पाण्डेले आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले स्याङ्जाको कालीगण्डकी र गुल्मीको सत्यवती गाउँपालिका जोड्न कालीगण्डकीमाथि बनाइएको रुद्रबेणी पुल आइतबार उद्घाटन गरेका छन् । उक्त पुल निर्माणका लागि करिब साढे ६ करोड रुपैयाँ खर्च भएको छ । २०६७ सालमा निर्माण सुरु भएको पुल २०७५ मा निर्माण सम्पन्न भए पनि उद्घाटन भएको थिएन ।
मुख्यमन्त्री पोखरेलले चापाकोट, गल्याङ, रुद्रबेणी सडकको स्तरोन्नतीको कामको शिलान्यास समेत गरेका छन् । रुद्रबेणी खण्डको सडक स्तरोन्नतीका लागि यो वर्ष ३ करोडको ठेक्का लागिसकेको छ ।
मुख्यमन्त्री पोखरेल आइतबार कालीगण्डकीको कोटाकोटमा आयोजित आमसभामा समेत सहभागी थिए । उनले कालीगण्डकी जलविद्युत परियोजना समेत अवलोकन गरे ।
मुख्यमन्त्री पोखरेलले सोमबार स्याङ्जाको मालुंगामा शालिग्राम करिडोरको शिलान्यास गर्ने र उत्तरवाहिनी क्षेत्रको अवलोकन गरेर पोखरा फर्कने कार्यक्रम तय भएको छ ।