काठमाडौं । वैशाख ३० गतेको स्थानिय चुनावका लागि काठमाडौं महानगरपालिकाका उपप्रमूखका दुवै उमेदवार नयाँ रहेका छन् ।
उपमेयरमा सिफारिस नेकपा एकिकृत समाजवादी सम्बद्ध रामेश्वर श्रेष्ठ युवा नेता हुन् । श्रेष्ठको अधिकांस समय पूर्णकालिन पार्टी कार्यकर्ताको रुपमा बित्ने गरेको छ । उनी केन्द्रीय सदस्य तथा काठमाडौं महानगर इन्चार्ज समेत हुन् ।
राजनीति सँगै कलाकारितामा व्यस्त रहने श्रेष्ठले पूर्व प्रधानमन्त्री झलनाथ खनालको सचिवालयमा समेत रहेर काम गरिरहेका छन् । उमेरले ५० वर्ष पुरा गर्दै गरेका श्रेष्ठले स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् ।
नेकपा एमाले समर्थक सुनिता डंगोल युवा समूहकी रोलमोडल हुन् । उनको अधिकांश समय नेवारी संस्कृति, परम्परा तथा रितिरिवाजको जगेर्ना गर्ने विषयमा बित्ने गरेको छ । उनी नेपाल र नेपाली संस्कृतिलाई अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्धेश्यले रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी एक अभियन्ता हुन् ।
काठमाडौं महानगरको विकासका लागि आठ खम्बे नीति प्रस्तुत गरेसँगै डंगोल चर्चामा आएकी हुन् । उमेरले ३० वर्ष पुरा गरेकी डंगोल सन् २०११ को मिस नेवाकी विजेता हुन् । उनले समाजशास्त्रमा स्नातकोत्तर तह सम्मको अध्ययन पुरा गरेकी छन् । उनलाई नेकपा एमालेले उपमेयरका लागि सिफारिस गरेको छ ।
राजनीतिलाई विकासमा जोड्न रुचाउने दुवै उमेदवारका सपना फोहोरलाई मोहोर बनाउने रहेको छ । त्यस्तै दुवै उमेदवार टेलिभिजनमा नेवारी लगाएत अन्य कार्यक्रम प्रस्तुत समेत गर्दछन् ।