बृद्ध मतदाता भन्छन्, ‘विकास पनि देऊ - झण्डा पनि देऊ’

बृद्ध मतदाता भन्छन्, ‘विकास पनि देऊ - झण्डा पनि देऊ’

२०७९, बैशाख १९ सोमवार

  • 1.9K
    SHARES

  • बृद्ध मतदाता भन्छन्, ‘विकास पनि देऊ - झण्डा पनि देऊ’

    काठमाडौं । स्थानिय तहको चुनाव केन्द्रीत भएर जिल्लाका वडावडामा चुनावी प्रचारप्रसार अभियानलाई सबै राजनीतिक दलहरुले तीव्र बनाएका छन्।

    टोलटोलमा आ-आफ्ना पार्टीका झण्डा फहराउँदै चुनावी गीतमा नाच्दै र रमाउँदै हिँड्नेमा नेतादेखि कार्यकर्ताको ताँती छ।

    सत्तारूढ गठबन्धनमा रहेका दलहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले र अन्य राजनीतिक दलहरू आ-आफ्नै चुनावी एजेण्डा लिएर मतदाताको घरदैलामा पुग्न थालेका छन्।

    उचित ढलनिकास, सफा बाटो, धुलोमुक्त शहर, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित आफ्नै घरको आँगनमा उम्मेदवारलाई भेट्दा मतदातासमेत उत्साही बन्नेको दृश्य रोमाञ्चक देखिन्छ।

    उमेदवार घरघरमा पुगेर भोट मात्र माग्दैनन्। मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन्।

    काठमाडौं महानगरपालिका वडा नं १० स्थित बुद्धनगरकी ७१ वर्षीया शिला खँड्का ढलनिकासको उचित व्यवस्थापन नभएकोमा आक्रोश व्यक्त गरिरहेकी थिइन् । "वडामा काम लिन गयो झुलाउने काम हुन्छ, खै के भोट हाल्ने ? छिमेकका नातिनातिनाहरु सिफारिसका लागि वडामा पुग्दा हप्ता दिन भन्दा बढि झुलाइयो । अनि भोट किन दिने ?", वृद्धाका प्रश्न माथि प्रश्न थिए । 

    "हामीलाई विकास चाहियो विकास, म बुढी लौरो टेकेर बाहिर निस्कँदा नाक थुन्ने अवस्था नआओस्, यसमा सुधार होस् ।", बृद्धको भनाई थियो । 

    नेकपा एमालेका अध्यक्षका उमेदवार अशोक कार्की, सदस्यहरु लक्ष्मी नारायण महर्जन, किशोर थापा, प्रभा मैनाली र निर्मला परियार सहितको टोली घरदैलोमा पुग्दा स्थानियवासी केही निरासा- केही उत्साह बोकेर आफ्ना कुरा राखेका देखिन्थे ।

    त्यस्तै, घरदैलोकै क्रममा पार्टी सोध्ने बृद्धबृद्धा पनि मनग्ये देखिए । उमेदवारले सूर्य पार्टीबाट भोट माग्न आएका हौं आशिर्वाद दिनुहोस् आमा-बा भन्दै टाउको निहुराउँदा माहोल नै बेग्लैै देखिन्थ्यो । आशिर्वाद दिँदै बृद्धहरु भन्दथे, "बाबु सूर्यको एउटा झण्डा पनि छोड्दिनु न ।"

    1.jpg

    निर्वाचन आयोगले सिमित झण्डा मात्र प्रयोग गर्न निर्देशन दिएकाले बृद्धबृद्धालाई झण्डा छोडिदिएर एमाले नेताहरु जुलुसका लागि झण्डाको प्रबन्ध गर्न उत्साहित हुँदै त्यहाँबाट निस्केका देखिन्थे । 

    त्यतिमात्र हैन, बाबु अब त यो सरकारले बृद्धभत्ता रोक्छ अरे नि त भन्दै जिज्ञासा राख्ने बृद्ध पनि निकै देखिए । 

    २०७४ सालको स्थानिय तहको निर्वाचनमा यस वडामा अध्यक्ष रामकुमार केसी सहित पाँचै पद नेपाली कांग्रेसले जितेको थियो । यसपटक पनि पुनः केसीकै नेतृत्वमा नेपाली कांग्रेस मैदानमा छ भने एमालेबाट युवा नेता अशोक कार्की मैदानमा छन् । 

    अघिल्लो पटक सदस्य पदमा ९० मतले मात्र पराजित रहेका लक्ष्मी नारायण महर्जन पुनः कार्कीको नेतृत्वमा सदस्यको उमेदवार भएर प्रतिस्पर्धामा छन् । त्यहि भएर होला, अघिल्लोपटकको निर्वाचनमा भोट माग्दाको अनुभव सम्झेर घरमा सुचना दिने घण्टी, बत्तीका स्विचहरुको स्थान सजिलै पत्ता लगाउँदै घरका पाँचौ तला सम्मै पुगेर महर्जन भोट मागेका देखिन्थे ।

    उनी मुसुक्क हाँस्दै भन्दथे, "यसपालि त सरल, जुझारु, लोकप्रिय युवा नेता अध्यक्षका उमेदवार हुँदा जित सुनिश्चित नै भईसक्यो तर घर र घरका घनी नछोडी भोट माग्ने हो ।" 

    सदस्यका अर्का उमेदवार किशोर थापा बुद्धनगरका प्रतिष्ठित समाजसेवी हुनुहुन्छ, अरु उमेदवार प्रभा मैनाली र निर्मला परियार त्यत्तिकै लोकप्रिय । तसर्थ एमालेको विजयलाई कसैले रोक्न नसक्ने दावी महर्जनले गरेका छन् । 

    अघिल्लो दिन गाजाबाजा सहित सूर्यका उमेदवार भोट मागेको देखेको तर आफ्नो घर छेउमा चाँहि खै त 'सै पनि एमाले मै पनि एमाले' गीत बजाएको भन्दै प्रश्न गर्नेहरु पनि थिए । 

    स्थानिय तहको निर्वाचन भएकाले पार्टी भन्दा पनि व्यक्ति हेर्नु पर्ने सुझाव दिनेहरु पनि त्यत्तिकै देखिन्थे । 

    २०७९, बैशाख १९ सोमवार०९:०३:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार