कपन । आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको चुनावी घरदैलो अभियान अन्तर्गत नेकपा (एमाले) बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले शक्ति प्रदर्शन गरेको छ ।
शनिवार नगर प्रमूख तथा उपप्रमूखका उमेदवार क्रमशः मिठाराम अधिकारी र अनिता लामा एवं वडाध्यक्षका उमेदवार नवराज भट्टराई, सदस्यहरु देवी रेग्मी, रिता दाहाल, चन्द्रमान श्रेष्ठ र दिलकुमारी विक सहित एमालेका नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र स्वतन्त्र मतदाता सहित हजारौँको जुलुसले नगर परिक्रमा गरेको हो ।
घरदैलो अभियानका लागि केही दिन मात्र बाँकी रहेकाले एमालेले विशाल जुलुस निकालेर मतदातालाई खुशीपार्दै प्रतिपक्षीलाई दवावमा राख्न भने सफल भएको छ ।

बिहान ६ः३० बजे साततले पाथिभरा टोलबाट गाजावाजा सहित निस्किएको जुलुसले शिवमन्दिर, मिलनचोक, कपन चौकी, ह्याण्डबल ग्राउण्ड, अकाशेधारा हुँदै बालुवाखानी सम्म पुगेर नगर परिक्रमा गरेको हो । ७७ वटै जिल्लाका बासिन्दा बस्ने नयाँ शहरको रुपमा स्थापित कपन क्षेत्रमा यसअघि पनि एमालेका उमेदवार नवराज भट्टराई नेतृत्वको समूहले विजय हासिल गरेको थियो ।
पाँच वर्षका दौरानमा कुनै पनि विवादमा नपरेका, कोरोना महामारीका समयमा स्थानियलाई पुर्याएको सेवा, कपन बाढीपिडितका सन्दर्भमा ठोस योजना सहित कार्य सुचारु राखेका युवा अध्यक्ष नवराज भट्टराई पुनः अध्यक्षका बलिया प्रत्यासी हुन् ।
त्यस्तै पार्टीमा लोकप्रिय देखिएका मिठाराम अधिकारी र अनिता लामा सामाजिक कार्यमा पनि उत्तिकै भिडेर काम गर्ने स्वभावका कारण प्रतिपक्षीका लागि भारि देखिएका छन् ।