अमेरिकाको बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी निरा टन्डन नियुक्त हुने सम्भावना प्रबल

अमेरिकाको बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी निरा टन्डन नियुक्त हुने सम्भावना प्रबल

२०७७, मंसिर १६ मंगलवार

  • 1.3K
    SHARES

  • अमेरिकाको बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी निरा टन्डन नियुक्त हुने सम्भावना प्रबल

    मंसिर १६, वासिङ्टन ।

    अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो बजेट प्रमुखमा भारतीय मुलकी अमेरिकी नागरिक निरा टन्डनलाई नियुक्त गर्ने संभावना देखिएको छ । अर्थसम्वन्धी आफ्नो खास समूहको मुख्य पात्रका रुपमा उनलाई नियुक्त गरेर बजेट तर्फको जिम्मेवारी दिने सम्भावना रहेको समाचारमा जनाइएको छ । 
     
    न्युयोर्क टाईम्सले लेखेको समाचारका अनुसार उनलाई अमेरिकामा विकासका बारेमा अनुभवी व्यक्तिका रुपमा चिनिने गरिन्छ । बाइडेनले अर्थसम्वन्धी आफ्नो समूहका अन्य व्यक्तिहरुको पनि सूची बनाएका र त्यसलाई अन्तिम रूप दिएर घोषणा गर्न लागेका जनाइएको छ । 

    उनले नियुक्त गर्ने मुख्य मुख्य पदहरुमा बाइडेनले महिलाहरुलाई प्राथमिकता दिएका देखिएको छ । अर्थबाहेक अन्य दर्जनौ सल्लाहकार तथा सहयोगी समुहहरुमा पनि उनले महिलाहरुलाई प्राथमिकता दिएका छन् ।  

    बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरुमा पनि सबै जना महिला हुने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ । 

    बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरूलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् ।  

    बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछन् । उनले ह्वाइट हाउसको सञ्चार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछन् । बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप–प्रचार व्यवस्थापकका रूपमा सेवा गरेका छन् ।  

    उनीहरु सबै योग्य, अनुभवी सञ्चार विज्ञ रहेका बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताइन् ।  

    उनी पनि अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपतिको रूपमा निर्वाचित भएकी हुन् ।  

    बाइडेन र ह्यारीको नयाँ टिमले आफ्नो कार्यकाल सुरु गर्नु अगाडि अहिले पुर्व तयारीका कार्यहरुलाई तिव्रता दिएको छ । यसअघि बाइडेनले अन्य पदहरूमा पनि धेरै व्यक्तिहरुलाई नियुक्त गरिसकेका छन् ।   

    अमेरिकामा हरेक चार बर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन कार्यभार सम्हाल्ने व्यवस्था रहेको छ । 

    राष्ट्रपति कार्यालय ह्वाईट हाउस प्रवेश गरेपछि पूर्ण क्षमताका साथ काम गर्नेगरी अहिले उनीहरुले पुर्व तयारीलाई तिव्रता दिएका हुन् ।- एजेन्सी ।

    २०७७, मंसिर १६ मंगलवार०७:०४:०८
    प्रतिक्रिया
    सम्बन्धित समाचार