धनगढी । निवर्तमान नगरप्रमूख अशोक चन्दले निर्वाचनको मुखैमा पार्टी छोड्दा कञ्चनपुरको वेदकोट नगरपालिकामा नेकपा एमालेले नमिठो हार व्यहोरेको छ ।
यहाँ २०७४ सालमा व्यहोरेको हारको बदलालिँदै नेपाली कांग्रेस विजयी भएको छ। ०७४ सालमा एउटा वडामा मात्र सीमित भएको कांग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हो।
मेयरमा कांग्रेसका भोजराज बोहरा विजयी भएका छन्। उनी ८ हजार ७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४७४० मत प्राप्त गरिन्।
माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार बनेका समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बमले १ हजार ७५१ मत पाए।
उपमेयरमा पनि कांग्रेसकै तुलशी जोशी विजयी भएकी छन्। उनले ७ हजार २५४ मत प्राप्त गरिन्।
उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत र गठबन्धनबाट माओवादीकी हिरा जैशीले ३ हजार ६५२ मत प्राप्त गरिन्।
२०७४ सालको निर्वाचनमा बोहरा र जोशी एमालेका अशोक चन्द र सुशिला सिंहसँग पराजित भएका थिए। चन्द पार्टीमा आन्तरिक संघर्ष चल्दा माधव नेपाल पक्षिय थिए ।
नेपालले पार्टी विभाजन गर्ने निर्णय गर्दा शुरुमा साथ नदिएका चन्द निर्वाचनको मुखैमा आएर पुनः नेपालले गठन गरेको पार्टी नेकपा एकिकृत समाजवादी प्रवेश गरेका थिए ।
यद्यपि चन्दले जनता सन्तुष्ट हुनेगरि काम गर्न नसकेको परिणाम स्वरुप नै एमाले हार्न पुगेको स्थानिय गणेश धामीले बताएका छन् ।