वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगर प्रमुख पदमा गठबन्धनका उमेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा नेकपा (एमाले)का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा छन् ।
महानगरपालिकाका ३२ वडामध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्नेछ ।
मधेस प्रदेशको एक मात्र महानगरपालिकाको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई उमेदवार बनाएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगर प्रमुख सरावगीलाई उमेदवार बनाएको थियो । -रासस