काठमाडौं । सरकारको रोहवरमा पिडित स्थानीय वासिन्दा र काठमाडौं महानगरपालिका बीच सहमति भएपछि भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने भएको छ ।
आज सोमवार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहवरमा काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच सहमति भएपछि काठमाडौंको फोहोर व्यवस्थापन हुन लागेको हो । वार्तामा ललितपुर, ककनी, धुनिबेसी, गोकर्णेश्वर नगरपालिका तथा सरकारी अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । सोमबार भएको बैठकमा बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका हुन् ।
बैठकमा सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा जग्गाको मूल्यांकन गरी अधिग्रहण प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाएको छ । प्रभावित क्षेत्रमा १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।
धुनिबेसी नगरपालिकाको १, ३ र ४ तथा ककनीको १,२ र ३ नम्बर वडाका स्थायी बासिन्दाको स्वास्थ्य बीमा बोर्डबाट दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्न एक हप्ताभित्रै काम सुरु गर्ने, यस क्षेत्रमा विगतबाट उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने, १० दिनभित्र ल्यान्डफिल साइटको दुर्गन्ध हटाउने गरी रसायन छर्ने प्रतिवद्धता काठमाडौं महानगरपालिकाले गरेको छ ।
साउन १ गतेबाट स्रोतमै फोहोर छुट्याएर मात्रै ल्यान्डफिल साइटमा लैजाने प्रतिवद्धता महानगरपालिकाले गरेको छ । त्यतिन्जेलसम्म महानगरमा हाल थुप्रिएका फोहोर लगेर फालेपछि माटोले उचित तरिकाले पुर्ने प्रतिवद्धता पनि महानगरपालिको जनाएको छ ।
वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको डम्पिङसाइटमा पोस्ट क्लोजर प्रक्रिया सुरु गर्न पनि महानगरपालिका सहमत भएको छ ।
यससँगै फोहोर व्यवस्थापन हुन नसक्दा विजय र्याली समेत राम्ररी नमनाएका काठमाडौंका मेयर बालेन शाहलाई भने ठूलै राहत मिलेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वागमति प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डे लगाएतलाई भेटेर सहयोग मागेका बालेनले उपमेयर सुनिता डंगोलको समेत साथ लिएर फोहोर विसर्जनलाई तार्किक निष्कर्षमा पुर्याएका छन् ।