एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै प्रमुख चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङसँग जोडिएको चिनिया जासुसी प्रकरणबारे संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले अनुसन्धान गरिरहेको बताएका छन्।
हुआङको एक चिनियाँ महिलासँगको प्रेम सम्बन्धलाई लिएर अमेरिकी गुप्तचर निकायले जासुसीको आशंका गरेपछि यो प्रकरणले अमेरिकी राजनीतिक तथा प्रविधि क्षेत्रमा तरंग पैदा गरेको छ।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हुआङसँग फोनमा कुराकानी गरेको र ती महिलालाई चिनियाँ जासुस भएकोबारे आफूलाई कुनै जानकारी नभएको हुआङले बताएको जानकारी दिए।
‘मैले उनलाई सोधेँ, के तिमीलाई उनी जासुस हुन् भन्ने थाहा थियो ? उनले आफूलाई त्यस्तो कुनै जानकारी नभएको बताए। म उनको कुरामा विश्वास गर्छु,’ ट्रम्पले भने। उनले हुआङलाई ‘सम्मानित व्यक्ति’ भन्दै अनुसन्धानबाट उनी समस्यामा नपर्ने विश्वाससमेत व्यक्त गरे।
अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्स र फाइनान्सियल टाइम्सका रिपोर्टअनुसार हुआङको सम्बन्ध एलिस हुआङ नामकी महिलासँग रहेको थियो। उनी सिंगापुरस्थित प्रविधि कम्पनी मेगास्पिड इन्टरनेसनलकी पूर्वकार्यकारी हुन्।
अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस चिनियाँ गुप्तचर निकायको सम्पर्कमा रहेको र बेइजिङका लागि सूचना संकलन गरेको आशंका गरेका छन्। उनीहरूबीच पारिवारिक सम्बन्ध भने छैन।
यसअघि हुआङले आफ्नी श्रीमती र एनभिडियाका कर्मचारीलाई सम्बोधन गर्दै आफू वैवाहिक सम्बन्धप्रति इमानदार रहन नसकेको स्वीकार गरेका थिए। उनले आफ्नो व्यवहारले श्रीमती र छोराछोरीलाई चोट पुगेको भन्दै माफीसमेत मागेका थिए।
प्रकरण सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान अघि बढाएको छ। बाह्य कानुनी सल्लाहकारको सहयोगमा स्वतन्त्र निर्देशकहरूको समितिले अनुसन्धान गर्ने कम्पनीले जनाएको छ। कम्पनीले अहिलेसम्म राष्ट्रिय सुरक्षा वा आफ्नो व्यावसायिक गोपनीयता भंग भएको कुनै आधार नभेटिएको स्पष्ट पारेको छ।
हुआङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
चीनले भने जासुसीको आरोप अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयले यसलाई आधारहीन, अनुमानमा आधारित र चीनको छवि बिगार्ने उद्देश्यले लगाइएको आरोप भनेको छ।
कम्पनीका प्रमुखमाथि लागेको आरोपले लगानीकर्तामा समेत चिन्ता बढाएको छ। सोमबार एनभिडियाको सेयर मूल्य चार प्रतिशतभन्दा बढीले घट्दा कम्पनीको बजार पुँजीकरणबाट करिब २५० अर्ब अमेरिकी डलर गुमेको थियो।
कृत्रिम बौद्धिकता (एआई) प्रविधिका लागि अत्यावश्यक शक्तिशाली चिप निर्माण गर्ने एनभिडिया अमेरिकी प्रविधि उद्योगको सबैभन्दा प्रभावशाली कम्पनीमध्ये एक हो। त्यसैले यो प्रकरण व्यक्तिगत सम्बन्धमा मात्र सीमित नभई अमेरिका–चीनबीचको प्रविधि प्रतिस्पर्धा र राष्ट्रिय सुरक्षा चासोको विषयसमेत बनेको छ।