काठमाडौं । लगभग ३ अरब जनसंख्याका साथ विश्वको सबभन्दा धेरै जनसंख्या भएका नेपालको उत्तरी र दक्षिणी छिमेकी चीन र भारत, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका सबभन्दा ठूला स्रोत मुलुक हुन। यसमा कुनै सन्देह छैन। तर जम्माजम्मी ३ करोड भन्दा कम जनसंख्या भएको हाम्रो मुलुक नेपाल २ करोड ५० लाख जनसंख्या भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि तेस्रो स्रोत मुलुक हो भन्दा धेरैले नपत्याउन सक्छन् तर वास्तविकता यही हो।
गत साता मात्र अस्ट्रेलियाली सरकारले प्रकाशित गरेको प्रारम्भिक तथ्याङ्क अनुसार अस्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ। यस्तै घरमा अँग्रेजीपछि नेपाली भाषा बोलिनेको संख्या १ लाख ३३ हजार ६८ रहेको छ। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
यी त भए आधिकारिक तथ्याङ्क। यसमा अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीको संख्या जोड्दा यो ३ लाख भन्दा बढी हुन आउँछ। किनभने द सिड्नी मर्निङ हेराल्डले २०१९ अक्टोबरमा नेपाली विद्यार्थीसम्बन्धी प्रकाशित एक समाचारमा ६६००० नेपाली विद्यार्थीले अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थानमा प्रवेश लिएको कुरा लेखेको थियो।
अस्ट्रेलियाको संघीय सरकारको शिक्षा विभागले दिएको प्रतिवेदनअनुसार नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक अर्थव्यवस्थामा २ बिलियन डलरको योगदान दिएका छन्।
नेपाली विद्यार्थी कुन रूपमा अस्ट्रेलिया ओइरो लागिरहेका छन् भन्ने कुराको अनुभूति यस पंक्तिकारले आफ्नो हालै भएको अस्ट्रेलिया भ्रमणमा अनुभूत गरेको थियो। काठमाडौँ–सिङ्गापुर बोइङ ए ७८७–८ को वाइडबडी ठूलो जहाजको उडानमा अधिकांश यात्री १८ देखि २२ वर्षबीचका थिए। उनीहरू सबै अस्ट्रेलिया अध्ययनका लागि भनेर जाँदै थिए। यहाँनिर ‘भनेर’ भन्ने शब्द किन जोडियो भने कुनै पनि सामान्य नेपाली विद्यार्थीले अस्ट्रेलियाली शैक्षिक संस्थानहरूको चर्को शैक्षिक शुल्क तिर्न सक्दैनन्।
सामान्यतया अस्ट्रेलियाका शैक्षिक संस्थानहरूमा पूर्वस्नातक तहका लागि घटीमा वर्षको लगभग १५००० अस्ट्रेलियन डलर तिर्नुपर्छ। स्नातकरस्नातकोत्तर तहका निमित्त ४० पचास हजार डलर तिर्नुपर्छ जुन आमनेपाली विद्यार्थीको बुताले तिर्न सकिँदैन। त्यो शुल्क तिर्नका लागि कठोर श्रम गर्न आवश्यक छ। किनभने त्यो शुल्क नबुझाइकन अस्ट्रेलिया भिसा नवीकरण हुँदैन भने अर्कोतिर अस्ट्रेलिया आउँदा लागेको ऋण तिर्ने चटारो आफ्नो ठाउँमा छँदैछ। ऋण तिरेपछि घरमा खर्च पठाउनु त छँदैछ।
यस्तो कठिन अवस्थामा विद्यार्थीले आफ्नो पढाइ पूरा गर्नुपर्छ। पढाइ पूरा गरेपछि विद्यार्थी अस्थायी आवासीय भिसा पाउन ग्राह्य हुन्छन् र यो भिसा प्राप्त गरेपश्चात अस्ट्रेलियामा काम गर्न सक्छन्।