उनिहरु उनिहरु जस्तै भई दिएको भए............    

उनिहरु उनिहरु जस्तै भई दिएको भए............    

२०७९, आषाढ २८ मंगलवार

  • 3.4K
    SHARES

  • उनिहरु उनिहरु जस्तै भई दिएको भए............    

    काठमाडौं ।                                 

    बोतल त पटकपटक फेरिए यहाँ
    बोतल भित्रको बस्तु फेरिएन 
    रंगिचंगी लेवलका धेरै बोतलहरु 
    तँछाड मछाड गर्दै हारालुछ गरिए
    जसले जहाँ जसरी सक्छ,त्यसरीनै बटुलिए,
    तेरो बोतलको लेवल राम्रो कि मेरो बोतलको
    बोतल बटुल्नेहरु नै घम्साघम्सी लड्डी गरे 
    पटक-पटक के भएन यहाँ 
    एकसय चार वर्षेहरुले काम काटेनन् भनेर 
    बत्तीस वर्षेहरुको जन्म भयो
    ति पनि नालायक भएपछि विस्थापन गर्दै
    असली खोल ओडेका नयाँ-नयाँ अनुहारहरु  आए
    काँचो धागोमा झुण्डिएको तरवारको 
    आतंक बदल्न गुहार मागे गुहार दिनेले गुहार पनि दिए 
    तर खै किन हो ?  ति पनि खासै सक्कली परेनछन् क्यारे
    दुईसय चालिस वर्षेलाई बदलेको अनुभुती 
    पाउन सकेन देशले,
    श्री ३ र श्री ५ को त विस्थापन ग-यो आन्दोलनले
    तर सातसय एकसठ्ठी महाराजहरुको विगबिगी चलिरहेछ
    महँगो मूल्यमा किनेका पदहरुको रापिलो तापले 
    स्वाभिमानमा बाँच्नेहरुका लागि सकसका दिन आईरहेछन्
    परिवर्तको महायज्ञ पारगरेकाहरु  निरन्तर अपमान भईरहेछन् 
    नयाँ नयाँ बुख्याचाहरु , आईरहेछन्, गईरहेछन्  २
    समिक्षा गर्न मनलाग्छ पछाडि फर्केर 
    उनिहरु  उनिहरु  जस्ता कहिल्यै देखिएनन्
    उनिहरु  उनिहरु  जस्ता कहिल्यै भईदिएनन्
    वचन र व्यबहारमा उनिहरु 
    कहिल्यै टिकेनन् र टिक्न पनि चाहेनन्
    यदि उनिहरु  सँग विवेकको बुँद थियो भने
    चौसठ्ठी वर्षमा नियमित पाँच वर्षे अभिभावकको 
    काकाकुल बन्नु पर्ने थिएन देशले
    आज देशलाई सक्कली र नक्कली
    बुख्याचाहरुको वर्ग छुट्याउन सकस भईरहेछ
    पटक-पटकका धोकाधडीबाट
    कहिले मुक्ति पाईएला भनेर 
    मनको बह बिसाउन बहस चल्ने थिएन यतिचाँडैं
    कतै टुकिको युग त पुन भित्रिदै छैन ?
    लिला र ठगीहरु ,यज्ञबहादुर र भिमनारायणहरु 
    मध्य रातमा हराएको वास्तविक अर्थ रहन्थ्यो 
    सुखानी, हर्रेबर्रे,भिमान र पिस्करहरु  फेरि कहिल्यै रुने थिएनन् 
    दासढुंङ्गा र नारायणहिटीमा कोलाहल मच्चिने थिएन 
    नमिता सुनिता मात्रै होइनन्, 
    मैना सुनारहरु आँगनीबाट बेपत्ता हुने थिएनन्
    हजारौं निर्मलाहरु घर,स्कुल र करेसाहरुमा
    अर्धनग्न मृत्युवस्थामा हुदैनथे
    साच्चै उनिहरु उनिहरु जस्तै भई दिएको भए
    साच्चै उनिहरु उनिहरुजस्तै रहि दिएको भए
    न बाँदरमुँडेमा रगत र आँशुको भेल बग्ने थियो
    न त पार्टिका कार्यालयहरुमा
    अनसन र सुसाइडका घटना हुन्थे
    व्यक्ति धनी र राज्य कंगाल बनाउने
    रणनीतिक योजनाहरु बदलिदिएको भए
    देशको भाषा र संस्कृतिहरु,एम्बोसको आतंङ्कमा पर्ने थिएनन्
    गाडिको नम्बरप्लेटबाट नेपाल बिहार भएको हो कि 
    बिहार नेपालमा पसेकोे हो 
    कमिशनको दरीद्रताले देश तिल्मिलाईरहेछ  
    कामका लागि बजेट नदिएर 
    कमिशनको लागि बजेट बिनियोजन गर्ने परम्परा बदल्दै
    नीति र बिधिको तालाचावी सुम्पने थिएनन् होला कुनै घरानालाई
    स्वर्गलाई नर्कमा रुपान्तरणको महान घोषणा चाँडैं हुदैछ रे
    जनता एक छाक तरकारी पकाउन नसक्ने बन्दैनथे
    कतै ! आफैले आफैलाई तिरस्कार गर्दै
    धिक्कार्नु पर्ने दिन नआउला भन्न सकिएन 
    अह्रौंटेहरुको कान फुकाई हो वा 
    अल्प ज्ञानवालाको करामतले हो
    अनावश्यक छोराछोरी जन्माउन तम्सनेहरु
    सातको त यो बेहाल छ चौंध भएको भए
    किन हो कुन्नी नाम जुराउन नसक्ने
    अबैध गर्भहरु डिलिट गर्न मन लाग्छ 
    औला ठडाएर खबरदारी गर्न मन लाग्छ 
    राज्यका ढिकुटी माराहरुलाई, 
    छ-छमहिने मन्त्री उत्पादनको उद्योग चलिरहेछ
    खेद व्यक्त गर्नुको विकल्प रहेन यहाँ 
    उनिहरु उनिहरु जस्तै भई दिएको भए
    उनिहरु उनिहरु जस्तै रही दिएको भए 
    शिव सभ्यता,जनक सभ्यता र बुद्ध सभ्यता बेचेर 
    युगौयुग बाँच्न सक्ने थियो हाम्रो देश,
    सु-संस्कृत सभ्यता र संस्कृति निर्यात गरेर 
    रोयल्टीको भरमा, विधर्मीहरुलाई लल्कार्दै
    समृद्धिको शिखरमा रम्ने थियो हाम्रो देश
    न भ्रष्टाचार मौलाउने थिए,न नेता बौलाउने थिए
    सुनको कचौरा बोकेर 
    मागी खानेहरुको खेती बन्द हुने थियो
    उनिहरु उनिहरु जस्तै भई दिएको भए
    उनिहरु उनिहरु जस्तै रही दिएको भए
    खवदारीको समय हो यो 
    यहाँ नौरंङ्गी नाटकहरुको कुनै जरुरत छैन 
    तिमी नहुदैमा प्रकृति रोकिने वाला छैन 
    देशले अव नालायक बुख्याचाहरु बोक्नु जरुरी छैन
    आज सम्मका सम्मानलाई खोस 
    र भत्काउ तिनका कुत्सित नियतहरु
    थमाउ तिनका हातमा कुटो कोदालो गैची र बेल्चाहरु
    उठाउ स्वाभिमानका अभिभाराहरु
    विभिन्न बहानामा कङ्कालमात्रै भएको  
    नेपाल हेर्न सक्तैनन् वीरका सन्तानहरु
    उनिहरुलाई खबरदारी  गर्न उठ्नु पर्छ नागरिकहरु

    - होमप्रसाद गौतम, झापा धरमपुर

     

    २०७९, आषाढ २८ मंगलवार१२:०८:११
    प्रतिक्रिया
    सम्बन्धित समाचार