काठमाडौं । लामो विवाद र छलफलपछि संसदले नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक पारित गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले संविधानमा भएको व्यवस्थालाई जस्ताको त्यस्तै संशोधन विधेयकलाई पारित गरेको हो। नागरिकता संशोधन विधेयक पारित भएसँगै जन्मसिद्धका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने कानुनी बाटो खुलेको छ।
जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानले वंशजनको नागरिकता पाउने व्यवस्था २०७२ सालमा जारी भएको नेपालको संविधानले गरे पनि त्यसलाई कानुनी रुप नदिँदा कार्यान्वयन हुन सकेको थिएन। चार वर्षअघि दर्ता भएको संशोधन विधेयकलाई सरकारले फिर्ता लिएर असार २४ गते नयाँ विधेयक दर्ता गरेको थियो। शुक्रबारको बैठकले उक्त विधेयकलाई फाष्टट्र्याकमा पारित गरेको हो। अब राष्ट्रियसभाले समेत विधेयक पारित गरेमा यसले कानुनी रुप लिनेछ।
पारित विधेयकले २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता लिएका नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेको अवस्थामा वंशजको आधारमा नागरिकता पाउने भएका छन्। यो प्रावधान पारित भएपछि अब अनौपचारिक रुपमा आएको आँकडाअनुसार करिब सात लाख व्यक्तिले नेपालको नागरिकता पाउनेछन्। नागरिकता नपाउँदा उनीहरुले बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययनका लागि विदेश जान, सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिर गर्न पाएका थिएनन्।
पारित विधेयकले नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउनेछ। त्यस्तै नेपाली महिला नागरिकबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने पनि उनीहरुले वंशजको नागरिकता पाउनेछन्।
गैर आवासीय नागरिकता
विधेयकले लामो समयदेखि बहसमा रहेको गैरआवासीय नागरिकता पाउने सुनिश्चिता प्रदान गरेको छ। गैरआवासीय नेपालीलाई राजनीतिक बाहेकको सामाजिक, साँस्कृतिक तथा आर्थिक अधिकार उपभोग गर्न पाउने गरी नागरिकता पाउने बाटो खुलेको छ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सदस्य राष्ट्र बाहेको देशमा बसोबास गरेको र साविकमा उसको बाबु, आमा, बाजे, बज्जै नेपाली नागरिक रहेको अवस्थामा उनीहरुले गैर आवासीय नेपाली नागरिकता पाउनेछन्।
कसरी पाउने गैर आवासीय नागरिकता ?
गैर आवासीय नेपाली नागरिकता लिनका लागि तोकिएका कागजात समावेश गरी गृहमन्त्रालय समक्ष निवदेन दिनुपर्छ। निवेदनसाथ पेश गर्नुपर्ने कागजातहरु निम्नअनुसार छन्।
क. निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्जै साविकमा नेपालको नागरिक रहेको प्रमाण,
ख. सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
ग. विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
घ. दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा वसोवास गरेको प्रमाण
ङ. नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिवद्धतापत्र
यदि पहिल्यै नेपालको नागरिकता लिएको रहेछ भने गैरआवासीय नागरिकता लिँदा पुरानो नगारिकता फिर्ता गर्नुपर्ने व्यवस्था कानुनले गरेको छ। पेश गरिएका कागजातको परिक्षणपछि गृह मन्त्रालयले नागरिकता प्रदान गर्नेछ।
वैवाहिक अंगिकृत नागरिकता अहिले जस्तै विवाह लगत्तै पाउने प्रावधान यथावत छ। भारतमा नेपाली चेलीले सात वर्षमा मात्र वैवाहिक अंगिकृत नागरिकता पाउने प्रावधान छ । एमालेले बुहारी र छोरीलाई गरिने व्यवहार समान हुृन पर्ने भन्दै सात वर्ष राख्न चर्को आवाज उठाए पनि संसदले अस्वीकार गरेको छ।