काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभा र प्रतिनिधि सभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।
प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरेको विधेयक बिहीबार राष्ट्रिय सभाबाट समेत पारित भएको हो ।
राष्ट्रिय सभामा बिहीबार भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बहुमतले विधेयक पारित भएको छ । विधेयक प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरिएको थियो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
नागरिकता विधेयक पारितसँगै नेपालमा अब मुख्यतया नौवटा परिवर्तन आउने भएको छ । पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन् । विधेयकले जन्मका आधारमा नागरिकता पाएका ९जन्मसिद्ध नागरिक०का सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ । २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मका आधारमा नागरिकता दिइएको थियो ।
नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने व्यवस्था संविधानमा छ । तर, कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् ।
लामो समयसम्म नागरिकतासम्बन्धी कानुन संसद्बाट पारित नहुँदा उनीहरूको दैनिक जीवनसमेत प्रभावित बनेको छ । नागरिकता नभएकै कारण बैंकमा खाता खोल्न, उच्च शिक्षा अध्ययन गर्न, रोजगारी गर्न नपाएका उनीहरूको समस्या अब भने समाधान हुनेछ ।
दोस्रो, अब आमाको नामबाट मात्रै पनि नागरिकता पाइनेछ । यद्यपि, यसरी नागरिकता पाउन चार सर्त भने विधेयकले राखेको छ । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमै बसोबास गरेको, बाबु पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट मात्र वंशजको नागरिकता पाउनेछ ।