काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप लागेपछि नेपाल प्रहरी प्रमाण संकलनतिर लागेको छ । लामिछानेविरुद्ध काठमाडौं गौशाला प्रहरी वृत्तमा एक किशोरीले मंगलबार बलात्कारविरुद्ध जाहेरी दिएकी थिइन् । यसपछि प्रहरी परिसर काठमाडौंले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण खोजी थालेको हो ।
‘गत ५ भदौ राति सन्दीपले बलात्कार गरेको’ भन्दै १७ वर्षीया किशोरीले मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहरा ‘लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि उनी बसेको भनिएका नगरकोट र काठमाडौंका होटलका सीसीटीभी फुटेज संकलन गरेको,’ बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
‘हाम्रो टोलीले लामिछानेमाथि परेको जाहेरी अनुसन्धान थालिसकेको छ, उनी बसेको भनिएको नगरकोट र काठमाडौंका होटलको सीसीटीभी फुटेज संकलन लिएका छौं, अन्य आवश्यक प्रमाण खोजी भइरहेको छ,’ काठमाडौं प्रहरी प्रमुख बोहोराले भने ।
प्रहरीले सीसीटीभी फुटेज संकलन क्रममा काठमाडौं र नगरकोटका होटल सञ्चालकसँग सोधपुछसमेत गर्दै होटल दर्ताको प्रमाण पनि मागेको छ । स्रोतका अनुसार दुवै ठाउँका होटल पुगेको सीसीटिभीबाट पनि पुष्टि भइसकेको छ ।
गत ५ भदौ राति पिंगलास्थानस्थित होटलमा ३०५ नम्बरको कोठामा बसेको र बिहान त्यहाँबाट निस्किएको फुटेजमा देखिएको छ ।
होटल काठमाडौं इनमा लामिछाने ती युवतीसहित राति ११ बजेर ५५ मिनेट जाँदा पुगेका थिए । उनीहरू बिहान साढे ६ बजेतिर त्यहाँबाट फर्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
‘उनीहरू राति सिनामंगलको होटलमा पसेको र बिहान सँगै निस्किएको फुटेजमा देखिन्छ,’ घटना अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
बलात्कार आरोप लागेका लामिछाने हाल क्याराबियन प्रिमियर लिग ९सीपीएल० क्रिकेट खेल्न जमैकामा छन् । केन्यामा पाँचवटा ‘टी–२०’ खेलेपछि उनी जमैका गएका थिए । आफूमाथि लागेको आरोप लामिछाने मौन छन् ।
लामिछानेले केन्या जानु अघिल्लो दिन ‘आफूलाई काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा लगेको र राति होटलमा लगेर दुईपटक बलात्कार गरेको’ किशोरीको आरोप छ । लामिछानेले मादकपदार्थसमेत सेवन गरेको पीडितको भनाइ छ ।
उनीहरूबीच सामाजिक सञ्जाल ‘स्न्यापच्याट’ र ‘ह्वाट्स एप’मार्फत कुराकानी हुने गरेको पीडितको दाबी छ । ‘स्न्यापच्याट’मा संवाद पठाएको हेर्नेबित्तिकै स्वतः डिलिट हुनेगर्छ ।