पौष २६, काठमाडौँ ।
नियुक्तिमै विवादित बनेका डा.उपेन्द्र कोइरालाले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकबाट राजीनामा दिएका छन् ।
बैंक सञ्चालक समितिले धनिराम शर्मालाई अध्यक्ष बनाएपछि कोइरालाले राजीनामा दिएका हुन् । कोइरालाको राजीनामा शुक्रबार प्राप्त भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
अध्यक्ष पद खाली रहेको करिब पाँच महिनापछि गत बिहीबार बैंक सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । अध्यक्षमा चुनिएसँगै शर्माले बिहीबार नै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
शर्मालाई अध्यक्षमा चयन गर्दा कोइरालाले पनि समर्थन जनाएको बैंक स्रोतले जनाएको छ । ‘उनी (कोइराला) उपस्थित रहेको बैठकबाटै सर्वसम्मत अध्यक्ष चुनिएको हो,’ स्रोतले भन्यो, ‘अध्यक्ष चयनपछिको पहिलो बैठक आइतबारलाई डााकिएको छ ।’ बैंक स्रोत पनि अध्यक्ष बन्न नपाएकै कारण राजीनामा आएको दाबी गर्छ ।
राजीनामाका विषयमा कोइरालासँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । गत भदौ पहिलो साता पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्डमा लगेपछि बैंकको अध्यक्ष पद खाली भएको हो । त्यसयताका सबै बैठकमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरिरहेका शर्माले अध्यक्षता गर्दै आएका छन् ।
सरकारी बैंक भएकाले पनि सञ्चालक समितिमा सरकारले नियुक्त गरेका पदेन सदस्यको बाहुल्य छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा बैंकका अध्यक्षका कार्यकाल चारवर्षको हुने व्यवस्था छ ।