अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने

अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने

२०७७, पौष २७ सोमवार

  • 1.8K
    SHARES

  • अमेरिकी उपराष्ट्रपति पेन्स बाइडेनको सपथ कार्यक्रममा उपस्थित हुने

    पौष २७, वासिङ्टन । 

    अमेरिकी उपराष्ट्रपति माइक पेन्स आगामी जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका छन् ।

    राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्न थालेका छन् । उनले नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गरेका थिए। 

    बाइडेनको विजयलाई रोक्ने गरी कंग्रेसमा राष्ट्रपति ट्रम्पका समर्थकले आक्रमण समेत गरेका थिए । यस घटनामा संसद भवनभित्र र बाहिर गरी पाँच जनाको ज्यान गएको थियो । 

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्रेट पार्टीले राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग लगाउने तयारी गरिरहेका छन् । 

    तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्रेटले राष्ट्रपति विरुद्ध महाभियोग ल्याउने चेतावनी दिइसकेका छन् । 

    यद्यपी यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिएका छैनन्, तर विभिन्न संचार माध्यमले उपराष्ट्रपति पेन्सले अमेरिकी इतिहासमै हालसम्म प्रयोग नभएको संविधानको त्यस प्रावधानलाई प्रयोग नगर्ने बताएका छन् ।- एजेन्सी । 

    २०७७, पौष २७ सोमवार०८:०९:१६
    प्रतिक्रिया
    सम्बन्धित समाचार