मेलबर्न । आइसिसी टी-२० विश्वकपमा शुक्रबार उपाधि दाबेदार मानिएका इंग्ल्यान्ड र अस्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन्। मेलबर्न क्रिकेट मैदानमा हुने समूह १ को आफ्नो तेस्रो खेलमा दुवै टिम दोस्रो जितको प्रयासमा मैदानमा उत्रिने छन्। खेल १:४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुने छ।
प्रतियोगितामा दुबै टोलीलाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न यो खेल जित्नै पर्ने दवाव रहेको छ। आज अपराजित हुने टोलीको सेमिफाइनल यात्रा कठिन बन्ने छ।
इंग्ल्यान्डले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो। तर वर्षाको कारण आयरल्यान्डसँग इंग्ल्यान्ड पाँच रनले डकवर्थ लेविसका नियमका आधारमा पराजित भएपछि इंग्ल्यान्डमाथि दवाव बढेको हो।
त्यस्तै, अस्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डससँग ८९ रनले पराजित हुन पुगेको थियो। दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले हराएको अस्ट्रेलिया इंग्ल्यान्डलाई पराजित गर्दै पुन: खेलमा फर्किने प्रयासमा हुने छ।
इंग्ल्यान्ड र अस्ट्रेलियाबीच अहिलेसम्म टी-२० अन्तराष्ट्रियमा कुल २३ खेल भएका छन्। जसमा इंग्ल्यान्ड ११ र अस्ट्रेलिया १० खेलमा विजयी भएका छन्। पछिल्ला पाँच भेटमा इंग्ल्यान्ड तीन खेलमा विजयी हुँदा एक खेलमा पराजित भएको छ। एक खेलमा नतिजाविहीन भएको छ।
सुपर-१२ को समूह १ मा न्युजिल्यान्ड २ खेलमा ३ अंकका साथ शीर्ष स्थानमा छ। श्रीलंका, इंग्ल्यान्ड, आयरल्यान्ड र अस्ट्रेलिया समान एक-एक खेलमा जित निकाल्दै २-२ अंक जोडेका छन्।
नेट र नरेटको कारण श्रीलंका दोस्रो, इंग्ल्यान्ड तेस्रो, आयरल्यान्ड चौथो र अस्ट्रेलिया पाँचौं स्थानमा छन्। अफगानिस्तान २ खेलमा १ अंकका साथ पुछारमा छ। -एजेन्सी ।