काठमाडौं । गत स्थानिय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेदवार बनेका लक्ष्मण रम्तेल एमाले प्रवेश गरेका छन् ।
बुधवार एमाले क्षेत्रिय कमिटीद्धारा आयोजित एक कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव विष्णु रिमाल लगाएतको हातबाट टिका तथा खादा लगाई उनी एमाले प्रवेश गरेका हुन् ।

त्यस्तै बुधवार साँझ क्षेत्रीय सम्पर्क कार्यालयमा टिका तथा खादा लगाएर एमाले नेता तथा प्रदेश सभा उमेदवार गणेश प्रसाद दुलाल, जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक धन बहादुर अछामी, जिल्ला कमिटी सदस्यहरु चित्र बानियाँ, नयन थापा, हुमादेवी आचार्य, क्षेत्रीय कमिटी तथा वडा कमिटीका अन्य नेता कार्यकर्ताले रम्तेललाई स्वागत गरेका थिए ।
त्यस्तै क्षेत्रीय कमिटीको कार्यक्रममा उनी सहित ७५ जना युवा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका नेता धन बहादुर अछामीले बताए ।
लोकप्रिय नेता गोल्छे सार्कीबाट प्रभावित भई २०४७ साल देखि पार्टी राजनीति गर्दै आएका रम्तेल एक जुझारु युवा नेता हुन् । उनले गत स्थानिय तह निर्वाचनमा राप्रपाबाट लोकप्रिय मत प्राप्त गरेका थिए । राप्रपामा लोकप्रिय रहँदारहँदै पनि एमाले जस्तो संगठन र जनताको प्यारो पार्टीमै रहेर काम गर्नुको आनन्द नै अर्कै भएकाले एमाले प्रवेश गरेको रम्तेलले बताएका छन् ।

यद्यपि आफ्नो पुरानो पार्टी या अन्य कुनै पनि पार्टीलाई नराम्रो भने नभन्ने उनले भनेका छन् । एमाले एमाले नै हो यत्तिकुरा बुझ्नोस्, सबै पार्टी एकातिर तर एमाले अर्का तिर मात्र हुँदा पनि एमाले नै भारि देखिएको उनको भनाई छ ।
जनताको आशा, भरोसा र मनमनमा बसेको पार्टीको कार्यकर्ता हुने इच्छा आफुमा तिब्र रुपमा जागृत भएको उनको भनाई छ ।आगामी दिनमा थुप्रै मानिसहरु एमालेसँग नजिक भएर समाज तथा देशको सेवा गर्ने वातावरण बन्दै गएको पनि उनले बताएका छन् ।

