विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
आइतवार मुख्यमन्त्रीमा नियुक्त भएका कार्की आज सोमबार दिउँसो पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन्।
नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री कार्कीले विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो २ बजे सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री कार्कीको निजी सचिवालयका अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले दिउँसो उनलाई पद तथा गोपनीयताको सपथग्रहण गराएपछि सानो आकारको मन्त्रीमण्डल गठन हुनेछ।
यसक्रममा सत्ता साझेदार दलबाट मन्त्रीहरुको शपथ ग्रहण हुने बताइएको छ। गठन गरिने सानो आकारको मन्त्री मण्डलमा प्रदेश सरकारका लागि समर्थन दिएका नेकपा माओवादीबाट तेह्रथुमका प्रदेश सभासदस्य तथा पार्टी केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई, झापाबाट निर्वाचित राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र ताप्लेजुङबाट समानुपातिकतर्फ जनता समाजवादीकी प्रदेश सभासदस्य निर्मला लिम्बूले पहिलोचरणमा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने देखिएको छ।
यससँगै सत्ताको नेतृत्व गरिरहेको एमाले ताप्लेजुंगका तिलकुमार मेन्यांग्बोले मन्त्रालयको जिम्मेवारीवहन गर्ने एमालेका एक प्रदेशसभाका सदस्यले जानकारी दिएका छन्।
प्रदेश प्रमुख खापुङले प्रदेश सभा सरकारको गठनका लागि दलहरुलाई आव्हान अनुसार एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी, राप्रपा, र जसपाकाको समर्थनमा २४ गते आइतबार बेलुका ४ बजे मुख्यमन्त्रीको लागि कार्कीलाई नियुक्त गरेका थिए।
हाल प्रदेश सभामा एमालेको ४०, माओवादी १३, राप्रपा ६ र जसपाको १ गरी कुल ६० जना प्रदेश सभा सदस्य रहेका छन्।
अर्कोतर्फ, प्रतिपक्षमा नेपाली कांग्रेस २९ र नेकपा एकीकृत समाजवादी ४ जना सदस्य रहेका छन्।